धनकुटामा दुई व्यक्ति मृत फेला



हिले । छुट्टाछुट्टै स्थानमा धनकुटामा दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शहीदभूमि गाउँपालिका र महालक्ष्मी नगरपालिकामा गरेर दुई जना मृत फेला परेका हुन् ।

शहीदभूमि गाउँपालिका–७, फुर्केडाँडा, गैरीगाउँकी ४४ की पूर्णिमा मगर मङ्गलबार राति स्थानीय गोरेटोमा यात्रा गर्ने क्रममा बाटोबाट लडेर मृत अवस्थामा भेटिनु भएको छ । उहाँ करिब १५ मिटर तल अर्को मुख्य सडकमा झरेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान ८ बजे महालक्ष्मी नगरपालिका–१ बस्ने वर्ष अन्दाजी ४३ का टङ्कबहादुर राय सो स्थानकै बाटोमा मृत अवस्थामा फेला पर्नु भएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिप्रका धनकुटाबाट खटिएको टोलीले दुवै शवको प्रारम्भिक कानुनी प्रक्रिया तथा अनुसन्धान पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जानकारी दिनु भयो ।

अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपछि मृत्युको यथार्थ कारण खुने प्रहरीको भनाइ छ ।
गोरखापत्र अनलाइनबाट साभार

सम्बन्धित समाचार