खाँदबारी । सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालयको भवनमा शुक्रबार उक्त कार्यालय स्थापना गरिएको हो ।
कार्यालय स्थापना कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाका अनुसार तोकिएकै समयमा निर्वाचन हुने गरी माथिल्लो निकायबाट जानकारी प्राप्त भएको छ । उहाँले जिल्लामा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै पक्षले सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लामा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यहरू औपचारिक रूपमा सुरु भएको कोईरालाले जानकारी दिनुभयो । साथै, निर्वाचन आचारसंहिता सम्बन्धमा माघ ४ गते सर्वदलीय बैठक आयोजना गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।


प्रतिक्रिया