खाँदबारी । आगामी फाल्गुण २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले संखुवासभा जिल्लाभर सशक्त र संगठित चुनावी अभियान सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ।
कांग्रेसले जिल्लास्तरीय १ हजार १ सय ११ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै कार्यवहाक सभापति अनन्तकुमार गौलीको संयोजकत्वमा समिति गठन गरिएको जनाइएको हो।
पार्टीका अनुसार निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, जनसम्पर्क र घरदैलो अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले समिति गठन गरिएको हो। प्रदेश क र ख दुवै निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापतिको संयोजकत्वमा ५ सय ५५ सदस्यीय क्षेत्रीय प्रचार–प्रसार समिति गठन गरिएको छ। साथै, १० वटा स्थानीय तह रहेको संखुवासभामा ठूला तथा साना पालिकाको आवश्यकताअनुसार छुट्टाछुट्टै निर्वाचन परिचालन समिति गठन गरिएको जिल्ला कार्यवहाक सभापति गौलीले जानकारी दिए ।
जनताको घरआँगनमै पुगेर कांग्रेसका नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा मत माग्ने हाम्रो रणनीति छ उनले भने। परिचालन समितिले वडा, टोल तथा बस्ती स्तरसम्म पुगेर घरदैलो तथा व्यापक जनसम्पर्क अभियान सञ्चालन गर्ने उनले बताए। पार्टीका नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा जनमत निर्माण गर्न कार्यकर्ता परिचालन गरिने उनले स्पष्ट पारे।


प्रतिक्रिया