खाँदबारी । सङ्खुवासभा जिल्लामा माघ २७ देखि २९ गते सम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० बर्षका किशोरीहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।
जिल्लाका एक हजार ५०१ जनालाई एचपिभी खोप लगाइने भएको छ। खाँदबारीमा आयोजित जिल्ला खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय सङ्खुवासभाले एचपिभी खोप अभियान बारे सरोकारवालाहरु लाई जनानकारी गराएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य र खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले एचपिभी खोप प्रभावकारी रहेकाे भन्दै लक्षित वर्ग एचपिभी खोपबाट वञ्चित हुन नहुने धारणा राखेका थिए। यसलाई सफल बनाउन सबै तह गम्भिर भएर लाग्नु पर्ने उनिहरुकाे भनाई ।
जिल्लाका १० स्थानीय तहमध्ये भोटखोला गाउँपालिका बाहेका स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालयबाहिरका किशोरीहरूलाई खोप लगाइने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक रोषण श्रेष्ठले बताए। श्रेष्ठले भने नेपालमा प्रत्येक दिन औषतमा ४ जना महिलाको पाठेघरको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । यसलाई २०३० सम्ममा नेपालमा पाठेघर को मुखको क्यान्सर रोगको निवारण गर्ने लक्षका साथ खोप अभियान सुरु गरिएको जनस्वास्थ्य निरिक्षक श्रेष्ठले बताए । ३० बर्ष माथिका ७० प्रतिशत महिलाहरूको उच्च गणुस्तरीय विधिबाट २ पटक पाठेघरको मुखको परिक्षण(स्क्रिनिङ) गराउने एचपीभी–डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ कार्यविधि २०८० मा उल्लेख गरिएको छ ।
यस पटक कक्षा ६ मा अध्ययनरत र गत बर्ष छुटेका सहित एक हजार ४७० छात्रा र विद्यालय वाहिरका २३ जना किशोरीलाई खोप लगाउने लक्ष लिइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो खोप किशोरीलाई एक पटक मात्रै लगाइने छ । गत बर्ष कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० बर्षका किशोरीहरु मध्ये ९२.९२ प्रतिशत लाई एचपिभी खोप लागाइएको थियो । कक्षा ६ देखि कक्षा १० सम्म र १० वर्ष उमेरदेखि १४ वर्षसम्मका सात हजारभन्दा बढीलाई एचपिभी खोप लगाइएको थियो।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको खाँदबारी नगरपालिकामा ४७१, चैनपुर नगरपालिकामा २६०, मादी नगरपालिकामा १३६, धर्मदेवी नगरपालिकामा १११, पाँचखपन नगरपालिकामा १३१, मकालु गाउँपालिकामा १०३, सभापोखरी गाउँपालिकामा ९४, भोटखोला गाउँपालिकामा ६५, चिचिला गाउँपालिकामा २४ र सिलिचोङ गाउँपालिकामा ७६ जना छात्रा कक्षा ६ मा अध्ययनरत छन्। खोप अभियानमा स्वास्थ्यकर्मी १५९, स्वयंसेवक १५९ र सुपरिवेक्षक ७६ जना परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ। खाेप अभियानलाई प्रभाकारी बनाउन स्थानियतह र वडातह सम्म कार्यक्रम बारे अभिमुखिकरण र याेजनाकाे कार्यक्रम राखिने छ ।
पुर्ण खाेप तथा एचपिभी खाेपका लागि स्वास्थ्यकर्मीले घरधुरी सर्वेक्षण गरिरहेका छन् । घरधुरी सर्भेक्षणलाई प्रभावकारी बनाउँन ५ वर्ष मुनिका वालवालिका भएको घरमा पुगेर स्वास्थ्यकर्मीहरुले प्रत्येक घरमा पुगरे स्टिकर टास्ने कार्यक्रमकाे सङ्खुवासभामा सुरुवात भएकाे स्वास्थ्य कार्यालका जनस्वास्थ्य निरीक्षक रोषण श्रेष्ठले बताए । उनले भने यस वर्ष ७ हजार घरमा सर्भेक्षणकाे स्टिकर टास्ने लक्ष लिएकाे छ ।


प्रतिक्रिया