अरुण तेश्रोलाई सुरक्षा चुनौती



तुम्लिङटार स्थीत अरुण तेश्रोको कार्यालयमा बम विष्फोटपछि भत्किएको पर्खाल ।

सङ्खुवासभा, बैशाख १९ गते । बहुप्रतिक्षित अरुण तेश्रो जलविद्युत आयोजनालाई लक्षित गरि गत आईतबार तुम्लिङटार स्थीत अरुण तेश्रोको कार्यालयमा भएको बम बिष्फोटसँग तीन पटक आक्रमण भईसकेको छ । यसरी पटक पटक अरुण तेश्रोलाई लक्षित गरि आक्रमण भईरहदा सुरक्षाको चुनौती बढेको छ ।

यस भन्दा अघिको घटनाहरुको जिम्मा बिप्लप माओवादीले लिएको छ । अरुण तेश्रो नेपाल आफैले बनाउनु पर्ने लगायतका माग राख्दै आएका विप्लप समुहले भारतलाई निर्माणको जिम्मा दिएकोमा तिब्र आपत्ती जनाउँदै विरोध गर्दै आएको विज्ञप्ती सार्वजनिक गर्दै आएका छन् । पावर हाउस र बाँध निर्माण स्थल एकान्तमा हुनु र जिल्लामा सुरक्षाकर्मीको कमीका कारण अरुण तेश्रोले सुरक्षा चुनौती ब्यहोर्नु परिरहेको छ । ठुलो भौगोलिक क्षेत्र भएको सङ्खुवासभामा दरबन्दी अनुसारको सुरक्षाकर्मीहरु नभएकोले पनि पर्याप्त सुरक्षाकर्मीहरु निर्माण स्थलमा खटाउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाउँदै आएको थियो ।

पावर हाउस निर्माण स्थलमा भएको घटनापछि अरुण तेश्रोको सुरक्षाको लागि मात्र २५ जना प्रहरी सुरक्षार्थ खटाईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष खड्काले बताउनुभएको थियो । पावर हाउस, ड्याम साईड, खाँदबारी सम्पर्क कार्यालय र तुम्लिङटार कार्यालयको लागि खटाएको प्रहरी पर्याप्त नभएको प्रनाउ खड्काले बताउदै आउनुभएको थियो । यसरी सुरक्षार्थ प्रहरी खटाईएपनि सुरक्षाका विचमै तुम्लिङटार कार्यालय परिषरमा बम विष्फोट गराएको थियो । यस अघिका घटनाहरुको जिम्मेवारी बिप्लप माओवादीले लिएपनि यस पटक कसैले त्यसको जिम्मेवारी लिएको छैन ।

अरुण तेश्रोको सुरक्षाको लागि थप प्रहरी र सवारी साधनको अत्यावश्यक रहेको जिल्ला प्रहरी प्रमुख खड्काको भनाई छ । तत्काललाई कम्तीमा अरुण तेश्रोको चार स्थानमा सुरक्षा दिनको लागि ४० जना सुरक्षाकर्मीको आवश्यक रहेकोले सोही अनुसार मगाएको खड्काले जानकारी दिनुभयो । ‘पेट्रोलिङ’ र स्थलगत अनुगमनको लागि सवारी साधनहरु पनि आवश्यक रहेको उहाँ बताउनुभयो ।

लगानी बोर्डका सहसचिव उत्तमभक्त वाग्लेका अनुसार अरुण तेश्रो परियोजनाको पिडिएमा विकाशकर्ताले मागे अनुसारको सुरक्षाकर्मी नेपाल सरकारले उपलब्ध गराउने भनिएको छ । सो अनुसार परियोजनाको सुरक्षार्थ छुट्टै सुरक्षाकर्मी टोली (डेडिकेटेड फोर्स) को पनि ब्यवस्था गर्न सकिने सहसचिव वाग्लेले जानकारी दिनुभयो । त्यसको लागि आयोजना विकासकर्ताले आवश्यकता अनुसार जिल्ला स्थीत सुरक्षा समितिलाई मागपत्र बुझाउनु पर्ने र सोही अनुसार सुरक्षा समितिले गृहमन्त्रालयमा सिफारिस गरि पठाउनुपर्ने हुन्छ । तर, अहिलेसम्म सो प्रकृया अगाडी बढाईएको छैन । पुनः अरुण तेश्रोलाई लक्षित गरि आक्रमण जन्य घटनाहरु भएमा डेडिकेटेड फोर्सको लागि प्रकृया अघि बढाउने जिल्ला सुरक्षा समितिका कार्यबाहक अध्यक्ष तथा निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले बताउनुभयो ।

लामो समयदेखि अरुण तेश्रोको पर्खाईमा बसेका स्थानीयले भने सुरक्षाको कारण देखाएर निर्माण अलपत्र पारिने होकी भनेर चिन्ता ब्यक्त गर्न थालेका छन् । निर्धारित समयमा नै परियोजना सम्पन्न गर्नको लागि अहिलेबाटै सुरक्षा प्रबन्ध राम्रो बनाउनु पर्ने जिल्लावासी नागरिकहरुको माग छ ।

०७२ साल मंसिर २३ गते पहिलो पटक पुखुवा स्थीत पावर हाउस निर्माण स्थलको भवनमा आगजनी भएको थियो । त्यस्तै, गत माघ २७ गते पनि सोही स्थानमा बम विष्फोट भएको थियो ।

गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार