तेह्रथुममा उँधौली मेला सुरु



तेह्रथुम — लालीगुराँस नगरपालिका वसन्तपुरमा रहेको चोत्लुङ पार्कमा किराँत समुदायको उधौली मेला सुरु भएको छ । मेलामा भारत, बेलायत, सिंहापुर र नेपालका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली भाषी लिम्वु र अन्य किराँत समुदायका अगुवाहरूको सहभागिता छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुरमा रहेको चोत्लुङ पार्कमा जारी किरात समुदायको उँधौली पर्वका अवसरमा आयोजित मेलामा लिम्बु जातिको संस्कारमा आधारीत अन्तराष्ट्रिय स्तरको यो पार्क नगरपालिकाको सहयोगमा मेला आयोजना गरिएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए । यसअघि नगरको १४ लाख रुपैंया लागतमा पार्क बनाइएको माबोहाङले जनाए ।

मेलामा खासगरी लिम्बु समुदायको जन्म, मृत्यु, विवाह, उद्यौली उभौलीजस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित कार्यक्रम आयोजना हुने मेला आयोजक समिति अध्यक्ष विकास सोदेम्बाले बताए । मेलामा यी पर्व र संस्कारमा आधारित आवश्यक सामानसमेत राखिने आयोजकले जनाएको छ । लिम्बू जाति प्रकृतिपूजक मानिन्छन् ।

लिम्बू जातीले ढुंगा र माटोलाई विशेष पुजाआजा गर्छन् । ढुंगालाई विशेष देवताको रुपमा पुजा गर्ने लिम्वु जातीको धेरै पुरानो संस्कार हो । लिम्बु समुदायको धर्मग्रन्थको रुपमा लिइने मुन्धुममा ढुंगालाई विशेष महत्व दिएको छ । जन्म र मृत्यु संस्कारमा लिम्बू जातिले ढुंगालाई प्रयोग गर्छन् ।

मेला आयोजनास्थल चोत्लुङ पार्कमा लिम्बू जातीको जन्मदेखि मृत्यु संस्कार सम्ममा प्रयोग हुने ढुंगाहरू देश विदेशबाट संकलन गरेर राख्ने काम पनि भैरहेको मावोहाङले बताए । पार्कलाई लिम्वुहरूको चोत्लुङ (सिद्धीस्थल) को रुपमा बिकास गरिने नगरपालिकाले योजना अघि सारेको छ ।

जन्मदेखि मृत्युसम्म लिम्वु जातीको संस्कार पृथक छ । यो संस्कारलाई जीवित राख्न सकियो भने मात्र पनि लिम्बु संस्कार हेर्न, वुझ्न, अध्ययन र अनुसन्धान गर्न आउने देशी विदेशीहरूको संख्या बढ्ने नगर प्रमुख माबोहाङले बताए ।

पार्कका विभिन्न स्थानमा राखीएका ढुंगामा यस्तै संस्कार झल्कीने आकृतिहरू कुदीएका छन् । पार्क र मेलाले यसक्षेत्रमा लिम्वु जातीको जातीय संस्कारमा आधारीत सांस्कृतिक पर्यटनको विकास हुने कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख तुम्बाहाङले बताए ।

पार्कमा निर्माण गर्न लागिएको संग्राहालयमा लिम्बू जातिले पुर्वमा शासन गर्दा प्रयोग गरेका हातहतियार तथा पुरातात्विक समानहरू, पुर्वका माझ किराँत, वल्लो किराँत र पल्लो किराँत क्षेत्रको राज्य सञ्चालनताका सीमा जोगाउन प्रयोग गरिएका ढुंगा तथा घरेलु हातहतियारसमेत ल्याएर राख्ने काम भइरहेको छ ।

मेलामा लिम्बू जातीको खानपान र संस्कार झल्कने सामान पनि राखिएको छ । यो जातीले नयाँ वर्ष वैशाखे पूर्णिमालाई उभौली र मंसिरे पूर्णिमालाई उधौलीका रुपमा धुमधाम मनाउने गर्छ ।

खेतबारीमा लगाएको अन्न घरमा भित्र्याउने समय मंसिरमा विशेष पुजाआजा गरेर मात्र नयाँ फलेको अन्नलाई घरको भकारीमा भित्र्याउने र त्यसपछि न्वागीको रुपमा चढाएर खाने लिम्बू जातीमा चलन छ । त्यस्तै खेतबारीमा अन्न लगाउने समयमा विशेष पुजाआजा गरेर किराँत जातीले उभौली मनाउने गर्छन् ।
पार्कलाई लिम्वु समुदायको मुन्धुम प्रशिक्षण केन्द्रको रुपमा समेत विकास गरीने नगर प्रमुख मावोहाङले योजना सुनाए । केही बर्षभित्रै पार्कमा अन्तराष्ट्रिय स्तरको चोत्लुङ मेला लगाउने तयारी समेत साथै भइरहेको छ । मेलामा अमेरिका, ब्रिटेन, जर्मन, फ्रान्स्, जापान, र भारतका अनुसन्धानकर्ताको उपस्थिति रहने नगर प्रमुख मावोहाङले बताए ।

सम्बन्धित समाचार