नागरिक अनलाईनको समाचारमा कुलुङ संघको आपत्ती



काठ्माण्डौ । कुलुङ समुदायका प्रमुख पर्व मिनारी दाचाम् (चाक्चाकुर) को अवसरमा सोलुखुम्बुको छेस्काम स्वास्थ्य चौकीले कण्डम बाँड्ने भनेर नागरिक न्युज डट कममा प्रकाशित समाचार प्रति कुलुङ संघले आपत्ती जनाएको छ । आफ्नो समुदायको पवित्र पर्वको अवसरमा लाग्ने मेलालाई लक्षित गरि कण्डम वितरण गरिने विषयको समाचार प्रति विज्ञप्ती जारी गर्दै आपत्ती जनाएको हो ।

महाकुलुङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरिप्रसाद आचार्यले पर्वको अवसरमा कण्डम वितरण गर्न नियोजित तथा सामाजिक संरचनामा खलल पुग्ने काम गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । यसरी सामुदायिक संवेदनसिलतालाई ख्याल नगरि नागरिक न्युजका पत्रकार शिखरजंग श्रेष्ठले समाचार संप्रेषण गर्नुले कुलुङ समुदाय स्तब्ध बनाएको कुलुङ संघको निष्कर्ष रहेको विज्ञप्तीमा लेखिएको छ । कुलुङ संघका अध्यक्ष चन्द्रसिं कुलुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा त्यस्ता समवेदनाहिन कार्यले नागरिक न्युज गैह्र जिम्मेवार रहेको स्पष्ट भएको उल्लेख गरिएको छ ।

कुलुङ समुदायको पवित्र पर्व हर्सोल्लासका साथ मनाउदै गर्दा स्थानीय सरकारको रुपमा रहेको महाकुलुङ गाउँपालिका पनि गैह्र जिम्मेवार बनेको विज्ञप्ती मार्फत आरोप लगाईएको छ । यस घटना लगत्तै महाकुलुङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक आचार्यले सार्वजनिक रुपमा अभिब्यक्ति सच्याउनु पर्ने, महाकुलुङ गाउँपालिकाले त्यस सम्बन्धी स्पष्ट धारणा सार्वजनिक गर्दै आगामी दिनमा त्यस्तो कार्य हुन नदिने प्रबिद्धता जनाउनु पर्ने र नागरिक न्युज डट कमले सोही अनलाईनबाटै गल्ती सच्याउनु पर्ने माग राखेका छन् । यदि गल्ती नसच्याए उक्त समाचारको विरुद्धमा आफुहरु लाग्ने कुलुङ संघका अध्यक्ष चन्द्रसिं कुलुङले बताउनुभयो ।

चाक्चाकुरको अवसरमा लाग्ने मेलामा कण्डम बाँड्ने समाचार नागरिक न्युजमा आएपछि अन्य नागरिकहरुले कुलुङ समुदायप्रति गलत धारणा राख्दै सामाजिक सञ्जालमा अभिब्यक्ति दिई रहेका छन् । कुलुङ समुदायले भने ति र त्यस्ता समाचारले आफुहरुको अस्मिता माथी आँच पुराएको भन्दै आक्रोस ब्यक्त गर्दै आएका छन् ।

यस बिषयमा महाकुलुङ गाउँपालिकाको कुनै आधिकारिक धारणा अहिलेसम्म आएको छैन । स्वास्थ्य शाखा संयोजक संयोजक आचार्यले पनि कुनै सार्वजनिक प्रतिकृया दिएको छैन । त्यस्तै, समाचार पोष्ट गरिएको नागरिक न्युज पनि चुपचाप छ । यसरी समाचारमा संलग्न सवै पक्ष गैह्र जिम्मेवार भएर बस्नुले नियोजित तवरबाट समाचार संप्रेषण गरिएको आरोप आउन थालेको छ ।

सम्बन्धित समाचार