अलैंची बजारः न मुल्य, न ब्यापारी



कृषकले घरमा थुपारेर राखेको अलैँची । 

सङ्खुवासभा । अघिल्लो बर्ष तिर अलैंची ब्यापारिहरु गाउँगाउँमा पुग्थे र राम्रो सुक्न नपाउँदै किनिहाल्थे । अझ कतिपय स्थानमा त स्थानीय ब्यापारी विच खोसाखोस जस्तै हुन्थे । तर यस बर्ष भने ब्यापारीहरु गाउँ पस्न मानेका छैनन् । यसको एक मात्रै कारण हो मुल्यमा भारि गिरावट ।

दुर्गम गाँउहरुमा ढुवानीको मार्जिन राखेर स्थानीय ब्यापारीहरुले अलैँची खरिद गर्ने गर्दछन् । मुल्यमा भारि गिरावट आएको बेला ढुवानीको मार्जिन राख्दा अझ किसानले कम मुल्य पाउने भएपछि अधिकांस किसानहरु पनि अलैंची बेचिहाल्ने पक्षमा छैनन । घरको गर्जो टार्न समस्यामा परेकाहरु बेच्न तयार भएपनि ब्यापारीहरु गाउँ नपस्दा यस बर्षको अलैँची किसानहरुमै सिमित बनेको छ ।

अलैँची ब्यापारीहरुसँग कुरा गर्दा उधारो दिए मात्र अलैँची लिने ब्यापारीहरुले बताउने गरेको कृषकहरु बताउछन् । तर उधारोमा अलैँची दिनु भन्दा नदिनु नै उचित भएकोले अलैँची गाउँमै राख्नु परेको सिलिलचोङ गाउँपालिका १ सिसुवाखोलाका अगुवा कृषक मञ्जिल कुलुङले बताउनुभयो । यस बर्ष उत्पादन भएको अलैँची मध्ये ६० प्रतिशत भन्दा बढी अलैँची कृषकमै सिमिति रहेको उहाँले दावी गर्नुभयो ।

यस अघि ब्यापारीले खरिद गरेको अलैँची पनि मुल्य घटेको कारण गोदाममै थन्किएका छन् । अघिल्लो पटक खरिद गरेको अलैँची पनि विक्रि गर्न नसक्दा ब्यापारिहरु घाटामा छन् । सिलिचोङ गाउँपालिकाका स्थानीय ब्यापारी आसकुमार राईले भन्नुभयो, ‘अगाडी किनेको अलैँची नै बेच्न सकेको छैन, अब फेरी नयाँ किन्नु परे करोड बढीको घाटा ब्यहोर्नु पर्छ ।’ उहाँका अनुसार यस अघि प्रतिमन ३० हजारले खरिद गरेका छन्, अहिले जिल्लामा २६ हजार भन्दा मुल्य बढेको छैन । यस अनुसार अहिलेको मुल्यमा प्रति सय मन चार लाखको घाटा अलैँची ब्यापारिले ब्यहोर्नु परेको छ । अझ अलैँचीको ओयर हाउस (तापक्रम सन्तुलित भण्डारण गृह) नहुँदा अलैँची सुकेर थप घाटा ब्यहोर्नु परेको छ ।

खाँदबारी बजार नजिक र सडक सञ्जाल जोडिएको स्थानीय तह चिचिला गाउँपालिकामा तुलनात्मक रुपमा अलैँची बढी विक्रि गरिएपनि सभापोखरी, भोटखोला, मकालु र सिलिचोङ गाउँपालिकामा अलैँची विक्रि गर्न नसकिएको कृषकहरु बताउछन् । यहाँका कृषकहरु केही बर्ष अघिसम्म बजरमा आफै लगेर बेच्ने गरेपनि पछिल्लो समय गाउँ मै आउने ब्यापारीको भर पर्दै आएका थिए ।

सङ्खुवासभामा प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना अन्तर्गत अलैँची जोन क्षेत्र घोषणा गरेर थप अलैँची खेती विस्तार गरिदै छ । यसरी अलैँची जोन क्षेत्र घोषणा गरेर कार्यक्रम गरिएपनि उत्पादनमा ह्रास र मुल्य गिरावटको कारण कृषकहरुमा उत्साह भने घट्दै गएको पाईएको छ । सङ्खुवासभामा प्रति बर्ष करिब ३ सय मेट्रिक टन अलैँची उत्पादन हुने गर्दछ ।

सम्बन्धित समाचार