बिराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश १ को नाम कोशी राख्न प्रदेशका नेतालाई निर्देशन पठाएको छ । नेकपा स्रोतका अनुसार प्रदेश १ को नाममा नेकपाका सांसदहरु नै विभाजित भएर मतदानको अवस्था आउन लागेको भन्दै केन्द्रले हस्तक्षेप गरेको हो ।
संविधानतः प्रदेशको नाम र राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले तोक्नुपर्ने हुन्छ । तर, प्रदेशका नेकपा नेताहरु आत्मनिर्णय गर्न नसकेपछि केन्द्रको आदेश पर्खनतिर लागेका छन् । नेकपा केन्द्रीय कार्यालयले औपचारिक वा लिखित निर्देशन नपठाए पनि पार्टीको प्रदेश कमिटीका पदाधिकारी र मुख्यमन्त्री शेरधन राईलाई मौखिक निर्देशन दिई प्रदेशको नाम कोशी र राजधानी बिराटनगर बनाउन भनेको हो । नेकपा प्रदेशसभा संसदीय दलको बैठक शुक्रबार बस्दैछ ।
स्रोतका अनुसार सोही प्रदेशमा घर भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नाम र राजधानीमा चासो राखेपछि प्रदेश सभा सदस्यलाई हृवीप लगाएर भने पनि सोही निर्णय पारित गराउन लागिएको हो । प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत रहेकाले उसले जे चाहृयो त्यही पारित हुने अवस्था छ ।
नेकपाभित्र पूर्व माओवादी पक्षका सांसदहरु भने प्रदेश १ को नाम किरात राख्नुपर्ने पक्षमा थिए । खोटाङका रामकुमार राई लगायतका केही सांसदले त किरात प्रदेश नाम नराखिए बिद्रोह गर्ने चेतावनी समेत दिएका थिए । पूर्वएमालेका पनि कतिपय सांसद किरात कोशी वा किरात सगरमाथाको पक्षमा थिए ।
किरातमा सहमति नभए पनि सगरमाथा प्रदेश र इटहरी राजधानी राख्ने पक्षमा नेकपाका बहुमत सांसद भए पनि अन्ततः पार्टीले कोशी प्रदेश र बिराटनगर राजधानी कायम गर्न निर्देशन दिएको एक नेताले बताए ।
यद्यपि राजधानी भने सुनसरी र मोरङका १८ स्थानीय तह समेटेर वृहत विराटक्षेत्र भनिने र प्रदेशसभा तथा प्रदेश सरकारका कार्यालय अलग अलग ठाउँमा राखिने सम्भावना रहेको स्रोतले बतायो ।
नेकपाभित्र प्रदेशको नाम र राजधानीलाई लिएर तीन दिनदेखि बैठक र छलफल भइरहेका थिए । स्रोतका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रदेश इन्चार्ज भीम आचार्य, अध्यक्ष देवराज घिमिरे र मुख्यमन्त्री शेरधन राईलाई मौखिक निर्देशन दिएपछि अवस्था अर्कै भयो । यसप्रति नेकपाका सांसदहरुले असन्तुष्टि पोखेका छन् ।
प्रतिक्रिया