वडालाई डेढ रोपनी जग्गा निःशुल्क प्रदान



संखुवासभा (सेकाहा) । संखुवासभाको खाँदबारी नगरपालिका वाड नं.—४ लाई एक स्थानीय ब्यक्तिले निःशुल्क डेढ रोपनी जग्गा प्रदान गरेका छन् । स्थानीय कुलराज गुरुङ र उनको धर्मपत्नी हरिमायाँ गुरुङले निःशुल्क रुपमा डेढ रोपनी जग्गा प्रदान गरेका हुन् ।

शुक्रबार जिल्ला मालपोत कार्यालय खाँदबारीमा वडा कार्यालयलाई रजिष्ट्रेसन पास गरि कानुनी रुपमा नै वडा कार्यालयलाई जग्गा दिएको हो । कानुनी रुपमा नै वडालाई रजिष्ट्रेसन पास गरि धनीपूर्जा समेत मालपोत कार्यालयमा नै ४ नम्बरका वडाध्यक्ष सजित राईलाई दाताहरुले सामुहिक रुपमा हस्तान्तरण गरे । आफ्नो गाउँठाउँको बिकास र अरुणथानमा नै वडा कार्यालय दीगो रुपमा रहोस भन्ने उद्धेश्यका लागी आफूले जग्गा प्रदान गरेको जग्गा दाता कुलराज गुरुङले बताए ।

खाँदबारी नगरपालिका वाड नम्बर ४ को वडा कार्यालय अहिले भाँडाको घरमा बसिरहेको छ । अहिले भाँडामा बसेको ठाउँकै नजिक गुरुङले निःशुल्क जग्गा दिएका हुन् । स्थानीय मूल्य अनुसार करिब १० लाख रुपैया पर्ने जग्गा निःशुल्क रुपमा दिएका हुन । गत बर्ष मात्रै ४ नम्बरको वडा कार्यालय अरुणथानमा संचालन भएको हो । ४ नम्बरको भूगोलको हिसाबले केन्द्रविन्दुमा पर्ने अरुणथानमा सम्पूर्ण वडाबासीको सहमतीमा अस्थायी रुपमा भाँडाको घरमा कार्यालय संचालनमा आएको थियो । स्थानीय तहको निर्वाचन पछि वडास्तर सम्म वडाकार्यालयहरु बिस्तार गरेको हो ।

अहिले अधिकाँस कामहरु वडाबाट नै संचालन हुनथालेपछि स्थानीयहरुलाई सहज भएको छ ।

सम्बन्धित समाचार