विद्यार्थी मुर्छा परेपछि विद्यालयमै धामी, डाक्टर भन्छन् अस्पताल लैजाऔं



विद्यालय भित्र धामी राखिदै । फोटो सौजन्यः कमल कुलुङ

सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र सिलिचोङ गाउँपालिका २ बालाको एक विद्यालयमा विद्यार्थीहरु मुर्छा पर्ने विरामी भएपछि विद्यालयमा नै धामी लगाईएको छ । स्थानीय हिमाल ज्योती आधारभुत विद्यालयका विद्यार्थीहरुमा मुर्छा पर्ने, काम्ने, बेहोस हुने जस्ता समस्याहरु देखिएपछि शान्तिको लागि धामी राखिएको हो ।

विद्यार्थीमा एक्कासी यस्तो समस्या देखिएपछि स्थानीय देवीदेउता रिसाएको धामीहरुले नै भन्न थालेपछि धामी राखिएको विद्यालयका प्रधानाध्यापक गंगाराज राईले जानकारी दिनुभयो । प्रधानाध्यापक राईका अनुसार धामी झाक्री लगाएर पनि समस्याको समाधान भएको छैन । हालसम्म १३ जना विद्यार्थीहरुमा यस्तो समस्या देखिएको प्रअ राई बताउनुहुन्छ । केहि विद्यार्थीहरुलाई अस्पताल लगेपनि ठिक नभएपछि धामी लगाईएको राईले जानकारी दिनुभयो ।

दिनैजसो विद्यार्थीहरु विरामी हुन थालेपछि विद्यालय नै बन्द गर्नु पर्ने बाध्यता आईलागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म त बन्द गरेका छैनौ, यस्तै हो भने केही दिन बन्द गर्नु पर्ने हुनसक्छ ।’ यता अविभावकहरु भने दिनै विद्यार्थी विरामी हुन थालेपछि चिन्तित बनेका छन् । विद्यार्थीहरु विरामी हुँदा विद्यालय पठाउने की नपठाउने भन्ने दुविधामा छन् । सकुशल रहेको बालबालिकालाई मुर्छा पर्ने रोगले पो छुने हो की भन्ने चिन्ता उनीहरुमा छ । विद्यालयमा १२ देखि १४ बर्षको उमेर समुहका छात्राहरुमा यस्तो समस्या देखा परेको विद्यालयले जनाएको छ ।

यस विषयमा जिल्ला अस्पताल खाँदबारीका प्रमुख डाक्टर लक्ष्मण खड्कासँग कुरा गर्दा जति सक्दो चाँडो अस्पताल पुराउनु पर्ने बताउनुभयो । विरामीको अवस्था नहेरी वा परिक्षण नगरि केही भन्न नसकिने हुँदा जतिसक्दो छिटो अस्पताल ल्याउन सुझाव दिनुभयो । कतिपयले भने यस्तो समस्यालाई मास हिस्टेरिया भनेका छन् ।

सम्बन्धित समाचार