खाँदबारी । सवै अधिकार सम्पन्न स्थानीय सरकार भनिएपनि स्थानीय तहमा काम गर्न सहज नभएको मादि नगरपालिकाका मेयर विदुर लिंथेपले बताउनुभएको छ । राज्य नयाँ संरचनामा गएपछि तिव्र गतिमा विकासको चाहना भएपनि विभिन्न कारणले सोचे जस्तो प्रगति हुन नसकेको बताउनुभएको हो ।
आज प्रेस संगठन संखुवासभाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मेयर लिंथेपले मादी नगरपालिकामा भईरहेको गतिविधीको बारेमा जानकारी गराउनुभएको छ । कार्यक्रममा बोल्नुहुँदै मेयर लिंथेपले नगरपालिकामा पनि सोचे जस्तो प्रगति गर्न नसकिएको बताउनुभएको हो । कर्मचारीको अभाव, भौगोलिक विकटता, श्रोत साधनको अभाव लगायतका कारण तिब्र गतिमा काम हुन नसकेको उहाँले बताउनुभयो । सोचे जस्तो काम गर्न नसकिएपनि तुलनात्मक हिसावमा प्रगति गर्नेमध्ये मादी नगरपालिका पनि अग्रस्थानमा आउने मेयर लिंथेपले दावी गर्नुभयो ।
मादी नगरपालिकाको समृद्धिको आधारमा कृषी पनि राखिएपनि बाली र पशु विज्ञको अभावको कारण चाहे जस्तो सफलता नमिलेको उहाँले बताउनुभयो । तर आफ्नो लक्ष्यमा पुग्नको लागि आगामी बर्ष आफैले विज्ञको दरवन्दी सिर्जना गरेर भएपनि पशु र कृषी विज्ञ ल्याएर काम गर्ने बताउनुभयो ।
त्यस्तै, मादी नगरपालिकाले महत्व र गौरवको योजनाको रुपमा उत्तर दक्षिण कोशी सडकदेखि ओखरबोटेसम्मको सडक कालोपत्रे राखेको जानकारी दिनुभयो । उक्त सडक कालोपत्रे गर्न करिब २२ करोड खर्च लाग्ने र क्रमागत रुपमा बजेट विनियोजन गर्दै आएको समेत जानकारी दिनुभयो । आफुले घोषणा पत्रमा उल्लेख गरे बमोजिम आफ्नो कार्यकालमा ९ वटै वडामा अस्पताल राख्ने योजना अनुसार यस बर्ष २ वडामा अस्पतालको स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक बर्षमा कार्य सम्पादनको क्रममा ब्यावस्थपकीय पाटो कमजोर हुँदा धेरै बेरुजु आएको उहाँले जानकारी दिनुभयो । सम्पन्न भएको योजनाहरुको श्रेष्ता राख्ने लगायत अन्य ब्यवस्थापनमा कमजोरी हुँदा ६ करोड भन्दा बढी सैद्धान्तीक बेरुजु आएको उहाँले जानकारी दिनुभयो । यसबाट पाठ सिकेर यस बर्षदेखि चुस्तदुरुष्त राख्ने बताउनुभयो ।
प्रतिक्रिया