चार विधेयक फिर्ता लिन काँग्रेसको माग



काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भरतकुमार शाहले गुठी विधेयक फिर्ता लिएसँगै संविधानको भावना विपरीत बनेका मिडिया काउन्सिल, सुरक्षा परिषद, सूचना प्रविधि र मानव अधिकारसम्बन्धी विधेयक पनि फिर्ता लिन माग गर्नुभयो । सांसद विमला नेपालीले दलित समुदायलाई थरका आधारमा नागरिकता नदिएकामा आपत्ति जनाउनुभयो । सांसद भैरवबहादुर सिंहले बझाङ जिल्लामा सडक यातायातका ठूला दुर्घटना हुन थालेको उल्लेख गर्नुहुँदै हालै मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनाका घाइतेको उपचारको व्यवस्था गरी मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेन्द्रकुमारी लिम्बूले गुठीलगायत मौलिक संस्कृति धरापमा राख्न खोजिएको संसद्मा दर्ता भएका विधेयकले प्रस्ट पारेकाले सचेत हुन सरकारलाई सुझाव दिनुभयो ।सांसद मीना सुब्बाले आकाशमा जहाज रोकिने, सडकमा यातायात रोकिने गरी विशिष्ट व्यक्तिहरुको आवागमन हुनु लोकतान्त्रिक शासक तानाशाही बन्न लागेको देखिएकाले सडक एवं आकाशमा पनि जनताले दुःख पाउनुपर्ने अवस्थाको अन्त्य गर्न माग गर्नुभयो । सांसद मैनाकुमारी भण्डारीले विभिन्न जिल्लामा बाँदरको समस्या रहेकाले समाधान गर्न ध्यानाकर्षण गराउनुभयो । सांसद मोहन बानियाँले कर्णाली राजमार्ग दुई लेनमा विस्तार गर्न माग गर्नुभयो ।

सांसद यज्ञराज सुनुवारले ओखलढुङ्गाको मान्द्रेखोलामा ८० मिटरको पुल वर्षांैदेखि अलपत्र रहेकाले काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो । सांसद रङ्गमती शाहीले हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकामा जीप दुर्घटनामा बेपत्ताहरु अझै फेला पर्न नसकेको बताउँदै हिमालबाट हिउँ पग्ली चिसोका कारण उद्धारमा अप्ठ्यारो भएकाले स्रोत साधन एवं क्षतिपूर्ति दिन माग गर्नुभयो । सांसद राजेन्द्रकुमार केसीले गुठी विधेयकका सन्दर्भमा मङ्गलबारको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले जुन शब्दको प्रयोग गर्नुभयो त्यसप्रति आपत्ति छ भन्नुभयो । राजेन्द्रप्रसाद गौतमले मकालु गाउँपालिकामा भीषण वर्षाका कारण बाढी पहिरो पीडितलाई क्षतिपूर्तिको माग गर्नुभयो ।

पूर्वेली न्युजबाट 

सम्बन्धित समाचार