बुढेसकालको साथी ‘रेडियो’




संखुवासभा । बुढेसकाल लागेपछि बुढाबुढीहरु घरमा बस्नुको विकल्प छैन । विशेष गरि गाउँघरमा अन्य सदस्य मेलापातमा जाने तर उमेर ढल्किएकाहरु भने प्राय एक्लै घरमै बस्ने गरेका छन् ।

यो अवस्थालाई मध्यनगर गरेर सिलिचोङ गाउँपालिका वडा नम्बर ३ ताम्कुले एक्लो हुँदाको साथी भन्दै रेडियो वितरण गरेको छ । वडा कार्यालयले वडा नम्बर ३ ताम्कु भरिका ७० बर्ष माथीका एक सय जेष्ठ नागरिकहरुलाई एक एक थान रेडियो वितरण गरेको हो । आर्थिक बर्ष २०७५/७६ को निति तथा कार्यक्रम मार्फत जेष्ठ नागरिक, अपांग र दलित समुदायलाई सम्मान कार्यक्रम अन्तर्गत उनीहरुलाई रेडियो प्रदान गरिएको हो ।

घरमा एक्लै रहदा रेडियोबाट सुचना, समाचार र गीत संगीत सुन्न पाउदा रेडियो साथीको रुपमा रहने भएकोले यस बर्ष रेडियो वितरण गरिएको वडाअध्यक्ष प्रतापसिं तामाङले जानकारी दिनुभयो । यस बर्ष विनियोजित एक लाख रुपैयाँको लागतमा रेडियो खरिद गरि जेष्ठ नागरिकहरुलाई वितरण गरिएको उहाँले जानकारी दिनुभयो । अघिल्लो बर्ष वडाले जेष्ठ नागरिकहरुलाई नगद प्रदान गरेको थियो । तर यस बर्ष रकम वितरण गर्न नितिगत समस्या भएकोले रेडियो वितरण गरिएको उहाँले जानकारी दिनुभयो । आगामी बर्ष पनि यस्तै कार्यक्रम राखेर जेष्ठ नागरिक, फरक क्षमता भएका नागरिक र दलित समुदायलाई सम्मान गरिदे उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा ताम्कु भरिका जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो । त्यस्तै विभिन्न राजनितिक दलका प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, नागरिक समाज लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम वडा नम्बर ३ का वडा सचिव भद्रबहादुर कुलुङले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित समाचार