भोजपुर । भोजपुरमा मारिएका प्रहरी जवान सन्जिव राईलाई विप्लव समूहका कार्यकर्ताले लेखेटेर होटलभित्र पुर्याएपछि गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरी जवान राई सादा पोशाकमा बुधबार विहान हटिया क्षेत्रमा पुगेका थिए । त्यही क्रममा उनी विप्लवका ओखलढुंगा इन्चार्ज नीरकुमार राईको समूहको निशानामा परेका हुन् ।
सादा पोशाकमा एक्लै भेटेपछि नीरकुमारको समूहले लेखेटेर पानधारे होटलभित्र पुर्याएको थियो । उनलाई त्यहीँ गोली हानेर लछापछार गर्दै बाहिर बाटोमा ल्याएको नाम उल्लेख नगर्ने शर्तमा एक प्रत्यक्षदर्शीले बताए । त्यही बेला पुगेको प्रहरीको गस्ती टोलीले विप्लव समूहका कार्यकर्तामाथि गोली चलाएको थियो । प्रहरीको गोली लागेर नीरकुमारको मृत्यु भएको छ । विप्लव समूहका एक कार्यकर्तालाई पनि गोली लागेको भनिएको छ, तर पुष्टि हुनसकेको छैन ।
घटनामा प्रहरीतर्फ जवान सोम भट्टराई घाइते भएका छन् । भट्टराईको भोजपुरमै उपचार भइरहेको छ । भोजपुरका प्रहरी जिल्ला अधिकारी नूरहरि खतिवडाले पनि विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि गोली हानेपछि गस्तीमा रहेको टोलीले जवाफी कारबाही गरेको बताएका छन् ।
प्रतिक्रिया