उदयपुर । उदयपुरका दुई छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर तीन परिवारका १२ जना बिरामी भएका छन्। त्रियुगा नगरपालिका–९ राजाबासमा एक परिवारका पाँच जना र कटारी नगरपालिका–४ सिसाघारीका दुई परिवारका सात जना बिरामी भएका हुन्।
शनिबार दिउँसो १ बजेको समयमा जंगली च्याउ खाएर राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ वर्षीया फूलमाया,छोरा २० वर्षीय अनिश, ११ वर्षीय मनिस र छोरी १७ वर्षीया रबिना बिरामी परेका हुन्। यसैगरी कटारी सिसाघारीकी ३५ वर्षीया टंककुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा टंक कुमारीसहित छोराहरु १४ वर्षीय अनिष र ११ वर्षीय महेन्द्र तथा नौ वर्षीय छोरी सुजिता बिरामी भएका छन्।
यस्तै उनीहरुकै छिमैकी २० वर्षीया गंगाकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङ पनि बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। बिरामीहरुकाे मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
प्रतिक्रिया