सिलिचोङमा एभरेष्ट बैंकको शाखा स्थापना



ताम्कु । जिल्लाकै दुर्गम मानिने सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा एभरेष्ट बैंकको शाखा स्थापना भएको छ । गाउँपालिकाको केन्द्र ताम्कुमा सनिबार बैंकको ८४ औं शाखाको उद्घाटन गरिएको हो ।

बैंकको उद्घाटन गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ र बैकको ताम्कु शाखाका प्रबन्धक बिवेक कार्की लगायतले बैंकको बोर्ड राखेर उद्घाटन गरेका हुन् । उद्घाटन गरिएसँगै गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी लगायत स्थानीयले खाता खोलेका छन् । जनप्रतिनीधीसँगै ६० भन्दा बढी स्थानीयले बैंकमा खाता खोलेका छन् ।
बैकको स्थापनासँगै स्थानीयमा भने खुसि छाएको छ । यही बैंकबाट सम्पुर्ण कारोबार गर्न सकिने भएकोले नागरिकहरु हर्षित भएका हुन् । यस अघि सामान्य कामका लागि समेत सदरमुकाम खाँदबारी धाउनु परेको नागरिकहरु अव आफ्नै गाउँबाट सम्पुर्ण आर्थिक कारोबार गर्न पाउने भएपछि आफुहरु हर्षित भएको सिलिचोङ ३ याचम्खा टोलका जितेन्द्र कुलुङ बताउनुहुन्छ ।

नयाँ बर्षको सुरुसँगै बैंकको स्थापना भएपछि हाल ब्यक्तिगत कारोबार सुरु भईसकेको शाखा प्रबन्धक बिवेक कार्कीले बताउनुभयो । सरकारी कारोवारको लागि केही प्रकृयाहरु पुरा गर्नु पर्ने भएकोले थोरै समय लाग्ने प्रबन्धक कार्कीले बताउनुभयो । कोष तथा लेखा नियन्त्रक कार्यालयले स्वीकृति दिए लगत्तै सम्पुर्ण सरकारी कारोवार पनि यहीँ मार्फत हुने उहाँको भनाई छ ।

बैंक उद्घाटनको क्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले अव आर्थिक कारोवारको लागि झण्झटको दिन सकिएको बताउनुभयो । विभिन्न विकासे योजना सञ्चालन गर्न पटक पटक सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको अध्यक्ष कुलुङको भनाई छ । दुर्गम तथा भौगालिक विकटताको कारण बैंक स्थापना गर्न निक्कै चुनौतिका विच बैंकको स्थापना गरिएको कुलुङले बताउनुभयो । यातायातको समस्याको कारण निर्माण सामग्री र बैंकका सामग्रीहरु ताम्कुसम्म ल्याउन निक्कै कष्ट गर्नु परेको उहाँले सुनाउनुभयो । बैंक चाँडो स्थापना गर्नको लागि गाउँपालिकाले समेत ३ लाख रुपैयाँ लगानी गरेको उहाँले जानकारी दिनुभयो । ताम्कुमा रहेको सगरमाथा माध्यमिक विद्यालयको भवन भाडामा लिएर बैंकको शाखा सञ्चालन गरिएको हो ।

सिलिचोङ गाउँपालिकाबाट सदरमुकाम खाँदबारी दुई दिनको पैदल दुरीमा छ । यहाँका नागरिकहरुले सञ्चालन गर्ने आयोजना तथा कार्यक्रमको लागि खाता सञ्चालन गर्न कम्तीमा ३ लाग्ने गथ्र्यो । अब उक्त समस्या हटेको बैंकको पनि दावी छ ।

 

सम्बन्धित समाचार