सोलुखुम्बु । सोलुखुम्बुस्थित आमादब्लम हिमालबाट खसेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर अग्लो हिमालको शिखर आरोहण गरी फर्किने क्रममा उनी करिब एक हजार ५०० मिटर तल खसेका थिए ।
आइतबार आमादब्लम हिमालको चुचुरोमा पुगेका आरोहीको सोमबार मृत्यु भएको हो । स्थानीय व्यवस्थापनको जिम्मेवारी लिएको रियल हिमालय प्रालिका प्रमुख गोकुल थापाका अनुसार खोजी टोलीले सोमबार उनको शव फेला पारेको थियो ।
लुक्लाबाट जानकारी दिँदै थापाले मृतक आरोहीको शव हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर पोस्टमार्टम गरिने बताए ।
सगरमाथा अवस्थित सोलुखुम्बु जिल्लामा पर्ने आमादब्लम हिमाल पर्वतारोहीमाझ लोकप्रिय गन्तव्यका रूपमा परिचित छ । चालु शरद् ऋतुको आरोहण सिजनमा यस हिमालको आरोहणका लागि ३०० भन्दा बढी आरोहीले अनुमति लिएका छन् ।
नेपालमा सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई मुख्य शरद् आरोहण सिजनका रूपमा लिइन्छ ।


प्रतिक्रिया