तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–६, सुदापका पृथ्वीमान लिम्बूले ६ हजार ४७० मिटर अग्लो मेरापिक हिमालको सफल आरोहण गरेका छन्।
प्रदेश लेखा इकाइ कार्यालय ओखलढुंगाका कार्यालय प्रमुखसमेत रहेका आठौँ तहका वरिष्ठ लेखा अधिकृत लिम्बूले आफ्नै कमाइबाट करिब १० लाख रुपैयाँ खर्च गरेर मेरापिकको चुचुरो चुमेका हुन्। उनले कात्तिक १ गते बिहान ७ बजेर १० मिनेटमा पर्वतारोहण गाइड सिङ्गी लामाका साथ हिमालको शिखरमा पुग्न सफल भएका थिए।
कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र चुनौतीपूर्ण पदमार्ग पार गर्दै शिखरमा पुग्नु आफ्नो व्यक्तिगत सपना पूरा हुनुका साथै नयाँ अनुभव र ज्ञान हासिल गर्ने अवसर बनेको लिम्बूले बताए। उनका अनुसार हिमाल आरोहणले प्राकृतिक सुन्दरताको अवलोकनसँगै हिमाली क्षेत्रको भौगोलिक अवस्था, मौसम, स्थानीय समुदायको जीवनशैली तथा सामाजिक, आर्थिक र सांस्कृतिक परिवेश बुझ्ने अवसर प्रदान गरेको छ।
मेरापिक आरोहणअघि पनि लिम्बूले विभिन्न हिमाली क्षेत्रमा पदयात्रा गरिसकेका थिए। २०८२ फागुनमा उनी केबिन शाक्यसँग कास्कीस्थित करिब ४ हजार ५०० मिटर उचाइको मर्दी हिमाल बेसक्याम्प पुगेका थिए। त्यसपछि गत जेठमा तत्कालीन मालपोत तथा भूमि व्यवस्था कार्यालय तेह्रथुमका प्रमुख प्रदीप राईसँग सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पदयात्रा गरेका थिए।
उक्त यात्राका क्रममा उनले ५ हजार ३६४ मिटर उचाइको एभरेस्ट बेसक्याम्प, ५ हजार ६४४ मिटरको कालापत्थर, ५ हजार ४२० मिटरको चोला पास र करिब ५ हजार ३०० मिटर उचाइमा रहेको गोक्यो पोखरीसम्मको यात्रा गरेका थिए। विभिन्न हिमाली गन्तव्य र बेसक्याम्पसम्म पुग्ने क्रममा हिमाल आरोहणप्रतिको उत्सुकता बढ्दै गएपछि मेरापिक आरोहणको योजना बनाएको उनले बताए।
लिम्बूका अनुसार हिमाली यात्राबाट प्राप्त अनुभवले सोचाइको दायरा फराकिलो बनाउनुका साथै कठिन परिस्थितिको सामना गर्न, धैर्य कायम राख्न र नयाँ कुरा सिक्न प्रेरित गर्छ। हिमाल आरोहणलाई साहसी पर्वतारोहीको गतिविधिका रूपमा मात्र नहेरी ज्ञान, सीप र अनुभव अभिवृद्धिको माध्यमका रूपमा समेत लिनुपर्ने उनको धारणा छ।
यात्राका क्रममा उनले हिमाली क्षेत्रको प्राकृतिक सुन्दरतासँगै पदमार्ग र पूर्वाधारका चुनौती पनि अनुभव गरेका छन्। कतिपय स्थानमा जीर्ण साँघु, असहज बाटो र आवश्यक पूर्वाधारको अभावले पर्यटक तथा आरोहीलाई कठिनाइ हुने गरेको उनले बताए।
हिमाली क्षेत्रमा सुरक्षित पदमार्ग, भरपर्दा साँघु तथा विद्युत्, खानेपानी, सञ्चार, इन्टरनेट र व्यवस्थित आवासजस्ता आधारभूत सुविधा विस्तार गर्न सके साहसिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने लिम्बूको भनाइ छ। यसले पर्यटकको आवागमन बढाउनुका साथै स्थानीय समुदायमा रोजगारी सिर्जना गर्न र आर्थिक गतिविधि विस्तार गर्नसमेत सहयोग पुर्याउने उनको विश्वास छ।
सरकारी सेवामा आबद्ध व्यक्तिले पनि नियमित जिम्मेवारीसँगै व्यक्तिगत रुचि र क्षमता विकासका गतिविधि अघि बढाउन सक्ने लिम्बू बताउँछन्। हिमाल आरोहणमा रुचि राख्ने कर्मचारीलाई प्रदेश तथा संघीय सरकारले आवश्यक अवसर, प्रोत्साहन र सहयोग उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।
सरकारी कर्मचारीको प्राथमिक जिम्मेवारी सेवा प्रवाह र संस्थागत काम भए पनि व्यक्तिगत क्षमता विकासका अवसरलाई महत्त्व दिन सके त्यसबाट प्राप्त ज्ञान र अनुभव व्यावसायिक जीवनमा समेत उपयोगी हुने उनको बुझाइ छ।
आफ्नै कमाइबाट ठूलो रकम खर्चेर मेरापिकको सफल आरोहण गरेका लिम्बूको यात्रा व्यक्तिगत इच्छाशक्ति, निरन्तर प्रयास र नयाँ अनुभवप्रतिको रुचिको उदाहरण बनेको छ। उनको यो उपलब्धिले साहसिक पर्यटनको सम्भावना उजागर गर्नुका साथै हिमाली क्षेत्रका चुनौती र आवश्यक पूर्वाधार विकासतर्फसमेत ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया