खाँदबारी । सङ्खुवासभाको उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु भएको छ । यसअघि लघु जलविद्युत् आयोजनाको भरमा विद्युत् उपभोग गर्दै आएका स्थानीय बासिन्दाले अब राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् उपभोग गर्न पाउने भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनाले हटियासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरेको हो ।
खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार भोटखोला गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा थ्री फेज मिटर जडान गरी विद्युत् आपूर्ति सुरु गरिएको छ । राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै स्थानीय बासिन्दा, सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानीपिसानी मिल तथा घरेलु उद्योगलाई सहज हुने अपेक्षा गरिएको छ ।
यसैबीच, नेपाल विद्युत् प्राधिकरणले चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणका अनुसार किमाथाङ्कामा विद्युत् पुर्याउन ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ । चालु आर्थिक वर्षभित्रै उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु गर्ने लक्ष्य राखिएको छ ।
सङ्खुवासभामा हाल करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन् । बाँकी घरधुरीमा भने लघु जलविद्युत् आयोजना तथा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति हुँदै आएको छ ।
जिल्लाका दुर्गम तथा भौगोलिक रूपमा विकट बस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तार हुँदै जाँदा विद्युत् आपूर्तिको नियमितता र विश्वसनीयता बढ्नुका साथै स्वास्थ्य तथा शिक्षा सेवा, घरेलु उद्योग र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया