खाँदबारी । जिल्ला अस्पताल संखुवासभाको नवनिर्मित भवन शुक्रबार उद्घाटन गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षमा जिल्ला अस्पताललाई हालको ५० शय्याबाट स्तरोन्नति गरी १०० शय्याको बनाउने प्रतिबद्धता जनाए। अस्पतालको भौतिक पूर्वाधारसँगै स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न आवश्यक जनशक्ति र कर्मचारी दरबन्दीसमेत थप गरिने उनले बताए।
अस्पतालको क्षमता विस्तारसँगै विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने प्रदेश सरकारको योजना रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले जिल्लावासीले सामान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी अस्पताललाई व्यवस्थित र सुविधासम्पन्न बनाइने बताए।
जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले जिल्ला अस्पतालले संखुवासभासहित छिमेकी भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई समेत विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्तिको विस्तार आवश्यक रहेको उनको भनाइ थियो।
भवन उद्घाटन कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुली, आर्थिक मामिलामन्त्री विदुर लिङ्थेप, पूर्वस्वास्थ्यमन्त्री तथा सांसद राजेन्द्र कार्कीलगायतको उपस्थिति थियो।
कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र पूर्वसांसद राजेन्द्र गौतमलगायतले सम्बोधन गर्दै जिल्ला अस्पताललाई ५० शय्याबाट स्तरोन्नति गरी १०० शय्याको बनाउनुपर्नेमा जोड दिएका थिए।


प्रतिक्रिया