खाँदबारी । नेपाली सेनाले भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका हिताधिकारीको हित, कल्याण र आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले ‘भूतपूर्व सैनिक सम्मेलन–२०८३’ आयोजना गर्ने भएको छ ।
नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा आयोजना हुन लागेको सम्मेलन पूर्वी पृतना हेडक्वार्टरअन्तर्गतका सुनसरी, मोरङ, धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लाका हिताधिकारीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको हो ।
सम्मेलनअन्तर्गत सुनसरीका लागि इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरमा मुख्य सम्मेलन केन्द्र तोकिएको छ भने धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका हिताधिकारीका लागि आगामी २०८३ मंसिर १४ गते धनकुटाको हिलेस्थित नं. २ वाहिनी अड्डामा उपसम्मेलन सञ्चालन हुनेछ ।
सम्मेलनमा सहभागी हुन इच्छुक भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका हिताधिकारीले नेपाली सेना कल्याणकारी बोर्डको वेबसाइट nawb.nepalarmy.mil.np मार्फत अनलाइन दर्ता गर्नुपर्नेछ । दर्ताको अन्तिम मिति २०८३ कात्तिक ३० गते तोकिएको छ । दर्ताका लागि पेन्सन पट्टा, नागरिकता र पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ ।
सम्मेलनमा सहभागीलाई भ्रमण भत्ता तथा विभिन्न सामग्री वितरण गरिनेछ । त्यस्तै, कर्जा प्राप्त गरेका ऋणीलाई चेक हस्तान्तरण, उत्कृष्ट लघु उद्यमीलाई पुरस्कार तथा ज्येष्ठ भूतपूर्व सैनिक र ज्येष्ठ एकल महिलालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ । योग्य अशक्त आश्रितलाई आवश्यकताअनुसार ह्विलचेयर तथा बैसाखी वितरण गरिने जनाइएको छ ।
संखुवासभामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका हिताधिकारीले आवश्यक कागजातसहित इन्द्रदल गुल्ममा उपस्थित भएर कर्मचारीको सहयोगमा अनलाइन फाराम भर्न सक्नेछन् ।


प्रतिक्रिया