चीन सरकारले सिलीचोङलाई दियो एम्बुलेन्स, स्काभेटर र ट्याक्टर पनि आउँदै



संखुवासभा । चीन सरकारले सिलीचोङ गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । चीन स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी मार्फत उपलब्ध गराइएको एम्बुलेन्स बुधबार सिन्धुपाल्चोकको तातोपानीस्थित मितेरी पुलमा हस्तान्तरण गरिएको हो ।

एम्बुलेन्स गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङको नेतृत्वमा गएको टोलीले बुझिलिएका हुन् । टोलीमा प्रमुख प्रशासकीय अधिकृत प्रबिण राई, स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङ लगायतका प्रतिनिधिहरु सहभागी थिए । एम्बुलेन्स, एक्स-रे मेसिन, स्काभेटर, ट्याक्टर लगायतका सामग्री प्रदान गर्ने सम्बन्धि सन् २०२३ नोभेम्बरमा दुई पक्षविच समझदारीपत्रमा हस्तान्तरण गरिएको थियो ।

एम्बुलेन्स सञ्चालनका लागि आवश्यक भन्सार तथा कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेको गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले जानकारी दिनुभयो । यसका लागि सिन्धुपाल्चोक भन्सार कार्यालयमा आवश्यक कागजी प्रक्रिया अघि बढाइएको समेत उहाँले जानकारी दिनुभयो ।

चिन सरकारले दिने उपकरणहरु मध्ये पोर्टेबल डिजिटल एक्स–रे मेसिनलगायत महत्वपूर्ण स्वास्थ्य उपकरण पाँच महिनाअघि नै प्राप्त भईसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रबिण राईले जानकारी दिनुभयो । ती उपकरणबाट गाउँपालिकामा स्वास्थ्य सेवा प्रवाह हुँदै आएको उहाँको भनाई छ ।

अब केहि महिना भित्र नै सम्झौता बमोजिमको स्काभेटर र ट्याक्टर उपलब्ध हुने बताईएको छ । गाउँपालिकाको अनुरोधमा चिन सरकारले उक्त सामग्रीहरु उपलब्ध गराएको हो ।

सम्बन्धित समाचार