सोलुखुम्बु । सोलुखुम्बुमा आगामी कात्तिक १७ र १८ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने भएको छ ।
स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार अभियानअन्तर्गत ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
बालबालिकालाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था तथा तोकिएका वितरण केन्द्रमार्फत औषधि खुवाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार सोलुखुम्बुमा ० देखि ४ वर्ष उमेर समूहका ८ हजार ७ सय ५९ बालबालिका रहेका छन् । बालबालिकाको पोषण तथा स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सञ्चालन गर्न लागिएको कार्यक्रममा आफ्ना बालबालिकालाई सहभागी गराउन स्वास्थ्य कार्यालयले अभिभावकलाई आग्रह गरेको छ ।
भिटामिन ‘ए’ ले यसको कमीबाट हुने स्वास्थ्य समस्या न्यूनीकरण गर्न सहयोग गर्छ भने जुकाको औषधिले परजीवीजन्य संक्रमण नियन्त्रणमा मद्दत पुर्याउँछ । बालबालिकाको स्वास्थ्य र पोषण सुधारमा सहयोग पुर्याउने भएकाले निर्धारित मितिमा नजिकैको स्वास्थ्य संस्था वा तोकिएको वितरण केन्द्रमा लगेर औषधि खुवाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।


प्रतिक्रिया