संखुवासभा । बंगालको खाडीमा विकसित अर्नव चक्रवातको प्रभावले कोशी प्रदेशका विभिन्न जिल्लामा हावाहुरी, असिनापानी, चट्याङ र हिमपातको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय संखुवासभाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबाट प्राप्त जानकारीअनुसार कार्तिक १२ देखि १४ गतेसम्म चक्रवात सक्रिय रहने सम्भावना रहेकाले उक्त अवधिमा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको हो ।
प्रशासनले हिमपहिरोको जोखिम रहेकाले हिमाली क्षेत्रमा नजान र गइसकेको भए सुरक्षित स्थानमा फर्किन वा सुरक्षित क्षेत्रमा बस्न आग्रह गरेको छ । त्यस्तै, बाढीपहिरोको जोखिम भएका क्षेत्रमा नजान, रातिको समयमा तथा लामो दूरीको यात्रा नगर्न पनि अनुरोध गरिएको छ ।
यस अवधिमा प्राकृतिक विपद्सम्बन्धी आधिकारिक निकायबाट जारी सूचनालाई मात्र विश्वास गर्न र कुनै विपद्जन्य घटना भएमा तत्काल जिल्लास्थित सुरक्षा निकायलाई जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।


प्रतिक्रिया