सजिलो नेटको बिकल्प खोज्दै उपभोक्ताहरु



खाँदबारी । संखुवासभाको सिलीचोङ गाउँ कार्यपालिकाका कार्यालयका प्रशासकीय अधिकृत भद्रबहादुर कुलुङले फेसबुकमा लेखेका छन्, “सिलीचोङ तिर SAJILO NET सारै Slow चलेको छ, अब बिकल्प खोजौ ।” उक्त पोष्टमा कमेन्ट गर्नेहरु करिब ९५ प्रतिशतले सजिलो नेटको सेवा खराब रहेको र विकल्प खोज्नु पर्ने बताएका छन् ।

त्यस्तै सिलोचोङ गाउँपालिकाकै कबिराज राईले पनि फेसबुकमै पोष्ट गरेका छन्, “सजिलो नेट मा 200 megabits per second चल्ने भनेर रिचार्ज गरेको 70-80mbps मात्र चल्छ । नियमन् गर्ने निकाय छ कि छैन ? संखुवासभामा वैकल्पिक ईन्टरनेट सेवा कुन कुन छ हौ ? #सजिलो_नेट बाहेक ।”

सिलोचोङका भद्र र कबिराजले मात्र होईन संखुवासभाका अधिका‌ंसले इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट प्रालिको गुणस्तर बारे गुनासो गरिरहेका छन् । महँगो शुल्क लिएर पनि कम्पनीले दावी गरेको स्पिडको आधा पनि नचल्ने, समस्या बारे जानकारी दिँदा फोन नउठ्ने, उठेपनि प्राविधिक नपठाउने जस्ता समस्या रहेकाे उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् ।

सिलीचोङ गाउँपालिकामा सजिलो नेटको इन्टरनेट विस्तारमा गाउँपालिकाको पनि लाखाैँ रुपैयाँ लगानी भएको छ । पालिकासम्म इन्टरनेट पुर्याउने, वडा कार्यालयहरु, सरकारी कार्यालय, विद्यालयहरुमा गाउँपालिकाकै बजेटबाट इन्टरनेट विस्तार गरिएको छ । यसरी सरकारी बजेटबाट विस्तार गरिएको इन्टरनेटका लागि उभपोक्ताले महँगो शुल्क तिरेपनि आधा स्पिडको समेत सेवा नपाईएको उपभोक्ताहरुले गुनासो गरेका छन् । “२०० एम्बिपिएसको लागि भनेर पैसा तिरेको हुँ, तर तिनिहरुले १०० एम्बिपिएस समेत दिएका छैनन्”, सिलीचोङ ३ लकुवाका कबिराज राईले गुनासो गरे ।

इन्टरनेट जडानमा पनि अत्यन्तै महँगो शुल्क लिने गरेकाे उपभोक्ताहरुको गुनासो छ । आफ्नै घर नजिकैसम्म पालिकाको बजेटले इन्टरनेट आएपनि महँगो शुल्ककै कारणले आफ्नो घरमा जोड्न नसकेको  सिलीचोङ ३ याचाम्खाका हरिकुमार कुलुङलको भनाई छ । आफ्नो घरदेखि करिब १०० मिटरको दुरीमा रहेकाे स्वास्थ्य ईकाईसम्म ईन्टरनेट आएपनि जडान गर्न २५ हजार रुपैयाँ लाग्ने भनेपछि इन्टरनेट नजोडेको उहाँको भनाई छ ।

संखुवासभाको सिलोचोङ गाउँपालिकामा सजिलो नेट बाहेक अन्य प्रदायक कम्पनीले सेवा विस्तार गरेको छैन । गाउँपालिकाले गाउँ गाउँमा इन्टरनेट सेवा पुर्याउने नीति लिई बजेटसमेत छुट्याएपछि सजिलो नेटले एकलाैटी प्रवेश पाएको हो । अहिले त्यहाँको उपभोक्ताहरुले सजिलो नेटको विकल्प खोज्न थालेका हुन् ।

सम्बन्धित समाचार