ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय



खाँदबारी । नेपाली कांग्रेसका नेता तथा पार्टीको अनुशासन समितिका संयोजक तारामान गुरुङ ठगी काण्डमा पक्राउ परेको भन्दै प्रकाशित समाचारको खण्डन गरिएको छ । गुरुङको सचिवालयले विज्ञप्ति जारी गर्दै व्यक्तिगत लेनदेनको विषयलाई तोडमोड गरी भ्रम फैलाउने प्रयास भएको दाबी गरेको हो ।

सचिवालयद्वारा जारी विज्ञप्तिमा व्यक्तिगत लेनदेन भएको स्वीकार गर्दै त्यसलाई सामान्य ऋण लिने–दिने व्यवहारका रूपमा स्पष्ट गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “व्यक्तिगत लेनदेन भएको सत्य हो । ऋण लिने–दिने सामान्य व्यवहार हो । सोही व्यक्तिगत लेनदेनलाई तोडमोड गरी अतिरञ्जित ढंगले प्रस्तुत गर्दै भ्रम सिर्जना गर्ने प्रयास हुनु दुःखद् र खेदजनक विषय हो ।”

व्यावहारिक कारणले भएको लेनदेनलाई ठगीको रूपमा प्रस्तुत गरी गुरुङको चरित्र हत्या गर्ने प्रयास भएको सचिवालयको दाबी छ । ऋण लिने–दिने कार्य सामान्य व्यावहारिक प्रक्रिया भएकाले त्यसलाई ठगीका रूपमा प्रस्तुत गर्नु तथ्यसंगत र न्यायोचित नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केही सञ्चारमाध्यमले वास्तविकता नबुझी समाचार प्रकाशन गरेको भन्दै सचिवालयले त्यसबाट गुरुङको सार्वजनिक जीवन, राजनीतिक योगदान तथा व्यक्तिगत प्रतिष्ठामा आँच पुगेको जनाएको छ । समाचार प्रकाशन गर्नुअघि सत्यतथ्य बुझ्न र सम्बन्धित पक्षको धारणा समेत समेट्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।

सम्बन्धित व्यक्तिको धारणा नबुझी एकपक्षीय रूपमा समाचार सम्प्रेषण गरिएको उल्लेख गर्दै सचिवालयले सञ्चारमाध्यमलाई जिम्मेवार पत्रकारिताको अभ्यास गर्नसमेत अपिल गरेको छ ।

सम्बन्धित समाचार