धनकुटा अस्पतालमा शल्यक्रिया शिविर सुरु



धनकुटा । धनकुटा जिल्ला अस्पतालमा सोमबारदेखि निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सुरु भएको छ । आर्थिक अभावका कारण शल्यक्रिया गराउन नसकेका बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको शिविर छ दिनसम्म चल्नेछ ।

सङ्घीय सांसद राजेन्द्रकुमार राई, कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुली, प्रदेशसभा सदस्य निरन राई, संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र अलोहा हवाई मेडिकल मिसनका चिकित्सक डा. क्रिस्टोफर क्लेमले संयुक्त रूपमा शिविरको उद्घाटन गरेका हुन् ।

अमेरिकाको अलोहा हवाई मेडिकल मिसनको प्राविधिक सहयोगमा सञ्चालन हुने शिविर कात्तिक १४ गतेसम्म चल्ने जनाइएको छ । शिविरमा स्त्रीरोग, हर्निया, हाइड्रोसिल, पायल्स तथा पित्तथैलीको पत्थरीलगायत समस्याको निःशुल्क शल्यक्रिया गरिनेछ । यसका साथै घाँटीसम्बन्धी समस्याको उपचारसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।

शिविरमा अमेरिकाबाट आएका डा. क्रिस्टोफर क्लेम र डा. विकास गुप्ताले चिकित्सकीय टोलीको नेतृत्व गरिरहेका छन् । शिविर सञ्चालन तथा व्यवस्थापन मूल समितिका संयोजक रोशेष श्रेष्ठका अनुसार शिविरमा सामान्य तथा जटिल प्रकृतिका शल्यक्रियाका साथै बिरामीको स्वास्थ्य परीक्षण (स्क्रिनिङ) समेत गरिनेछ ।

शिविरमार्फत एक हजार ५०० भन्दा बढी बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको श्रेष्ठले जानकारी दिए । आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले उनीहरूलाई आवश्यक उपचार प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।

अलोहा हवाई मेडिकल मिसनले यसअघि पनि धनकुटामा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको थियो ।

सम्बन्धित समाचार