खाँदबारी । प्रतिनिधिसभा सदस्य डा. अर्जुन कार्कीले भोटेकोशीमा आएको बाढीको जस्तै दुर्दशा संखुवासभालगायत अरुण बेसिनका जनताले पनि भोग्नुपर्ने दिन आउन सक्ने चेतावनी दिनुभएको छ । गृह जिल्ला संखुवासभामा आज पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
वैज्ञानिकहरूको अनुसन्धानअनुसार विश्वमा ४७ वटा जोखिमपूर्ण हिमताल रहेकामा ४२ वटा अरुण नदीको माथिल्लो क्षेत्रमा रहेको तथ्य सार्वजनिक भइसके पनि सरकारले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक उपाय अवलम्बन नगरेको सांसद कार्कीले बताउनुभयो । करिब ६ वर्षअघि नै वैज्ञानिकहरूले यस विषयमा सरकारलाई सचेत गराए पनि हालसम्म सरकारी तहबाट ठोस काम हुन नसकेको उहाँको भनाइ छ ।
उक्त जोखिमका विषयमा आफूले संसद् तथा विभिन्न माध्यममार्फत सरकारको निरन्तर ध्यानाकर्षण गराउँदै आएको उहाँले बताउनुभयो । हिमताल फुटेर आउन सक्ने सम्भावित बाढीको जोखिम समयमै न्यूनीकरण गर्न नसके अरुण नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक जुनसुकै बेला विपत्तिको शिकार हुन सक्ने उहाँले दाबी गर्नुभयो ।
त्यस्तै, अरुण बेसिनमा निर्माणाधीन तथा सञ्चालित जलविद्युत् आयोजनामा आवश्यक सुरक्षा संयन्त्र निर्माण गर्नुका साथै आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने विषयमा पनि आफूले सरकारको ध्यानाकर्षण गराउँदै आएको उहाँले बताउनुभयो । रसुवामा आएको जस्तै ठूलो बाढी आए तुम्लिङटारलगायत नदी आसपासका बस्ती उच्च जोखिममा पर्ने र अरुण नदी किनारका सडकमा समेत ठूलो क्षति पुग्न सक्ने भएकाले मुढे–चैनपुर सडकलाई सुरक्षित र व्यवस्थित अवस्थामा राख्नुपर्ने उहाँको भनाइ छ ।
अर्को प्रसंगमा सांसद कार्कीले योगमाया आयुर्वेद विश्वविद्यालयको अन्योलताबीच आफू पुनः अध्यक्षमा निर्वाचित भएको र उपकुलपति तथा रजिस्ट्रारको नियुक्तिसमेत भइसकेकाले अब विश्वविद्यालयले गति लिने दाबी गर्नुभयो ।
तत्कालै सिनेटको बैठक बोलाएर विश्वविद्यालयका विविध विषयमा आवश्यक निर्णय गरिने उहाँले बताउनुभयो । यसअघि भर्ना भएका विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा नपरोस् भन्नेतर्फ पनि आवश्यक पहल गरिने उहाँको भनाइ छ ।
संसद् नचलेको समयमा आफू जिल्ला आउने र आम मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकतामा राख्दै आएको सांसद कार्कीले जानकारी दिनुभयो । निर्वाचनका बेला आफूले स्वास्थ्य, शिक्षा र यातायातलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै उहाँले सोहीअनुसार विकासका कामलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
सडकतर्फ खाँदबारी, वाना र चैनपुर क्षेत्रका सडकको स्तरोन्नतिका लागि बजेट व्यवस्थापनको प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, अरुण नदीमा आवश्यक तीन वटा पुल निर्माणका लागि बजेट व्यवस्थापन भइसकेको समेत सांसद कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया