संखुवासभा । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नयाँ भनिएका राजनीतिक शक्तिहरूको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनीहरूले देश नै संकटमा पार्ने हुन् कि भन्ने चिन्ता बढ्दै गएको बताएका छन् ।
संखुवासभाको चिचिला गाउँपालिकामा आयोजित पार्टीको हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले पुराना राजनीतिक दलमाथि भ्रष्टाचारको आरोप लाग्ने गरेको उल्लेख गर्दै नयाँ शक्तिहरूप्रति पनि जनताको आशा निराशामा परिणत हुन थालेको टिप्पणी गरे । उनले भने, ‘पुरानाले घुस खायो भन्थे, नयाँले त देशै खाला भन्ने चिन्ता बढेर गएको छ ।’
सरकारले बहुमत पाएपछि चमत्कार गर्ने र भ्रष्टाचारसम्बन्धी तीनवटा फाइल खोल्नेबित्तिकै दोषीहरू जेल जाने दाबी गरे पनि त्यसअनुसार काम हुन नसकेको उनको आरोप थियो । ‘सत्ताधारी दलका साथीहरू संख्या पुगेन भन्थे, जनताले पुर्याइदिए । बहुमत पाएको दिन जादु गर्छौं भन्थे, जादु भएको छैन । तीनवटा फाइल खोल्दा सबै जेल जान्छन्, देश चकाचक बनाइन्छ भन्थे । तर फाइल किन खोलिएन ? फाइल कसले खोल्न दिएन ? कहिलेसम्ममा खुल्छ ? कति धैर्य गर्नुपर्ने हो जनताले ?’ उनले प्रश्न गरे ।
जनताले ठूलो विश्वास र समर्थन दिँदा पनि सरकारले समयमै जिम्मेवारीअनुसार काम गर्न नसके अवस्था थप बिग्रन सक्ने किरातीले चेतावनी दिए । ‘भिरमा जाने गाईलाई काँध थाम्न सकिँदैन’ भन्ने अभिव्यक्ति दिँदै उनले सरकारलाई बेलैमा सचेत हुन आग्रह गरे ।
उनले जनताको जीवन संकटग्रस्त बन्दै गएको, लगानीकर्तामा त्रासको अवस्था सिर्जना भएको, कर्मचारीतन्त्र अस्तव्यस्त रहेको र अन्तर्राष्ट्रिय विश्वास कमजोर हुँदै जाँदा मुलुकको भू–राजनीतिक अवस्था थप जटिल बन्दै गएको बताए । यी विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो ।
श्रम संस्कृति पार्टीको हातेमालो कार्यक्रमअन्तर्गत बिहीबार चिचिला गाउँपालिकामा आयोजित कार्यक्रममा किरातीले विभिन्न राजनीतिक दल परित्याग गरी आएका दर्जनौँ नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए ।


प्रतिक्रिया