संखुवासभामा बालबालिका अपहरणको अफवाह, भ्रम फैलाउनेलाई कारबाहीको चेतावनी



खाँदबारी । संखुवासभामा बालबालिका अपहरणमा परेको भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले स्पष्ट पारेको छ । प्रहरीले तुम्लिङटारमा एक बालक अपहरणमा परेको भन्ने हल्लामा कुनै सत्यता नरहेको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धनबहादुर राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कार्तिक १० गते तुम्लिङटारमा एक बालक हराएको सूचना प्राप्त भएपछि विमानस्थल सुरक्षा गार्डसहित प्रहरी टोली परिचालन गरी खोजतलास गरिएको उल्लेख छ । खोजीका क्रममा सोही दिन बालक फेला परेको प्रहरीले जनाएको छ ।

बालकको परिवारसँग सोधपुछ गर्दा परिवारले समेत बालक अपहरणमा परेको कुरा स्वीकार नगरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले सामान्य घटनालाई बङ्ग्याएर अपहरणको हल्ला फैलाइएको भन्दै सामाजिक सञ्जालमार्फत भ्रामक तथा कपोकल्पित सूचना प्रसारण गरी समाजमा डर, त्रास र अशान्ति फैलाउने व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ ।

यस्ता भ्रामक सूचना फैलाउने व्यक्तिलाई पहिचान गरी प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत प्रहरीले दिएको छ । साथै, प्रहरीले आधिकारिक पुष्टि नभएका सूचना सामाजिक सञ्जालमा सेयर नगर्न र यस्ता हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार