सोलुखुम्बुको माथिल्लो भेगमा हिमपात, पर्यटकलाई सुरक्षित रहन आग्रह



सोलुखुम्बु । ‘अर्णव’ चक्रवातको प्रभावले हिमाली जिल्ला सोलुखुम्बुमा हिमपात र वर्षा सुरु भएको छ । बिहीबार बेलुकादेखि जिल्लाको माथिल्लो भेगमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार खुम्बु क्षेत्रअन्तर्गत डिङ्बुचे, लोबुचे, गोक्यो र खुम्जुङ आसपासका क्षेत्रमा हिमपात भइरहेको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनराजा बुढाथोकीका अनुसार डिङ्बुचेभन्दा माथिल्लो क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमिसकेको छ ।

हिमपात जारी रहे पनि हालसम्म जिल्लामा सडक अवरुद्ध भएको वा कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । प्रहरीले माथिल्लो क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न र मौसम सामान्य नभएसम्म अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको मौसमी बुलेटिनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आगामी दुई दिनसम्म माथिल्लो खुम्बु क्षेत्रमा पदयात्रा, हवाई गतिविधि तथा हिमाल आरोहणलगायतका गतिविधि रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार प्रतिकूल मौसमका कारण हिमपहिरो, हिमआँधी तथा अन्य प्राकृतिक विपत्तिको जोखिम बढ्न सक्ने भएकाले पर्यटक र स्थानीयको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सतर्कता अपनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार बिहानसम्म नाम्चे बजारभन्दा माथिल्लो क्षेत्रमा ७३० जनाभन्दा बढी पर्यटक पुगेका छन् । मौसम प्रतिकूल बन्न सक्ने अवस्थालाई ध्यानमा राख्दै उनीहरूलाई मौसमी अवस्थाबारे जानकारी गराउने र नाम्चे बजार तथा आसपासका सुरक्षित स्थानमा ल्याउने काम भइरहेको छ ।

पर्यटकको सुरक्षाका लागि प्रहरीसहित अन्य सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी थापा मगरले बताउनुभयो । प्रशासनले खुम्बु पासाङल्हामु गाउँपालिका तथा सम्बन्धित निकायलाई सम्भावित जोखिम न्यूनीकरण र पर्यटकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ ।

सगरमाथा क्षेत्र पदयात्रा र हिमाल आरोहणका लागि स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य हो ।

सम्बन्धित समाचार