मंसिर ५ देखि ८ गतेसम्म चिचिला महोत्सव हुने



खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिकाले पर्यटकीय क्षेत्र मत्स्यपोखरीमा चारदिने चिचिला महोत्सव आयोजना गर्ने भएको छ । स्थानीय पर्यटन, उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मंसिर ५ देखि ८ गतेसम्म चिचिला गाउँपालिका–४, मत्स्यपोखरीमा महोत्सव आयोजना गर्न लागिएको हो ।

गाउँपालिकाका अनुसार महोत्सवमार्फत पर्यटकीय क्षेत्रको प्रचारप्रसार, स्थानीय उत्पादनको बिक्रीवितरण तथा विभिन्न जातजातिको कला र संस्कृतिको प्रवर्द्धन गरिनेछ ।

कोशी प्रदेश सरकार र चिचिला गाउँपालिकाको संयुक्त लगानीमा आयोजना हुने महोत्सवमा हेल्भेटास नेपालले समेत सहयोग गर्ने गाउँपालिका अध्यक्ष पासाङ नुर्बू शेर्पाले जानकारी दिनुभयो ।

महोत्सवमा विभिन्न जातजातिका परम्परागत परिकारसहितको फुड फेस्टिभल, स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री, सांस्कृतिक झाँकी, भलिबल प्रतियोगिता र सांस्कृतिक नृत्य प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न गाउँपालिकाको भौतिक पूर्वाधार समिति संयोजक राजेन्द्र घलेको संयोजकत्वमा नौ सदस्यीय महोत्सव व्यवस्थापन मूल समिति गठन गरिएको छ । बिहीबार मत्स्यपोखरीमा आयोजित भेलाले मूल समिति गठन गर्नुका साथै विभिन्न उपसमितिसमेत गठन गरेको गाउँपालिकाले जनाएको छ ।

महोत्सवले मत्स्यपोखरीसहित चिचिला गाउँपालिकाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्नुका साथै स्थानीय उत्पादनको बजार विस्तार र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार