संखुवासभा गोल्डकप सुरु, उद्घाटन खेलमा आयोजक पराजित



खाँदबारी । संखुवासभाको मानेभञ्ज्याङमा आजदेखि संखुवासभा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । एड्भान्स क्लब मानेभञ्ज्याङको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा आयोजक एड्भान्स क्लब मानेभञ्ज्याङलाई न्यू स्टार क्लब सुनसरीले ट्राइब्रेकरमा पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट गोलरहित बराबरी भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । ट्राइब्रेकरमा न्यू स्टारले ५–३ गोल अन्तरले जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

त्यस्तै, दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंले खाँदबारी युथ क्लब संखुवासभालाई १–० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा प्लानिङ ब्वाइजका फागुराम थारुले गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।

मंसिर २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक जिल्लामान राईले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको समापन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की उपस्थित हुने कार्यक्रम रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार