खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा जारी सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा जिल्लाका दुई टोली लोहोरूङ एफसी पाङमा र सेकाहा सामुदायिक क्लब खाँदबारी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न तेस्रो क्वाटरफाइनलमा सिरहाको सलहेस युवा क्लबलाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै लोहोरूङ एफसी पाङमाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा समेत ४–४ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट गरिएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका लोहोरूङका गोलरक्षक प्रमिजय गच्छादार प्लेयर अफ द म्याच घोषित भए ।
त्यस्तै, मंगलबार नै सम्पन्न अन्तिम क्वाटरफाइनलमा झापा–११ लाई २–० गोलले पराजित गर्दै सेकाहा सामुदायिक क्लब खाँदबारी पनि सेमिफाइनलमा पुगेको छ । सेकाहाका लागि दुवै गोल मिलन लिम्बुले गरेका थिए । दुई गोल गरेका लिम्बु नै खेलको प्लेयर अफ द म्याच घोषित भए ।
दुवै खेलका प्लेयर अफ द म्याचले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूले जनही ७ हजार रुपैयाँ प्राप्त गर्ने गोल्डकप संयोजक जिल्लामान राईले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत बुधबार कार्तिक १८ गते पहिलो सेमिफाइनल खेल हुनेछ । उक्त खेलमा न्यू स्टार क्लब बराहक्षेत्र, सुनसरी र प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौंबीच प्रतिस्पर्धा हुने खेल तालिका रहेको छ ।


प्रतिक्रिया