संखुवासभा गोल्डकप : पहिलो सेमिफाइनलमा न्यू स्टार र प्लानिक ब्वाइज भिड्दै



खाँदबारी । संखुवासभाको खाँदबारीमा जारी संखुवासभा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेलमा सुनसरीको न्यू स्टार क्लब र काठमाडौंको प्लानिक ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ। खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा दिउँसो हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।

प्रतियोगिताको क्वार्टरफाइनलमा न्यू स्टार क्लबले आयोजक एड्भान्स क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। त्यस्तै, प्लानिक ब्वाइज युनाइटेडले खाँदबारी युथलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको थियो। क्वार्टरफाइनलमा दुवै टोलीले देखाएको प्रदर्शनका आधारमा बुधबारको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

यसैगरी, बिहीबार हुने दोस्रो सेमिफाइनलमा संखुवासभाका दुई टोली लोहरुङ क्लब र सेकाहा सामुदायिक क्लबबीच प्रतिस्पर्धा हुनेछ। लोहरुङ क्लबले क्वार्टरफाइनलमा सिरहाको सलहेश युवा क्लबलाई पराजित गरेको थियो भने सेकाहा सामुदायिक क्लबले झापा–११ लाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। यस खेलको विजेताले घरेलु जिल्लाको प्रतिनिधित्व गर्दै फाइनलमा प्रवेश गर्नेछ।

आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड तथा सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

हरेक खेलको उत्कृष्ट खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गर्दै पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

बुधबार र बिहीबार हुने सेमिफाइनल खेलबाट फाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ। प्रतियोगिताको फाइनल खेल कात्तिक २० गते हुनेछ।

सम्बन्धित समाचार