सेकाहा संखुवासभा गोल्ड कपको फाईनलमा, उपाधिका लागि न्यू स्टार क्लव सुनसरीसँग भिड्ने



खाँदबारी । संखुवासभाको मानेभञ्ज्याङमा जारी संखुवासभा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सेकाहा सामुदायिक विकास क्लब प्रवेश गरेको छ। बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा लोहोरुङ फुटबल क्लब पाङ्मालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेकाहाले फाइनलमा स्थान सुरक्षित गरेको हो।

खेलको पहिलो हाफमा सेकाहाले दुई गोलको अग्रता बनाएको थियो। खेलको १२औँ मिनेटमा बिनोद राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि अर्थात् १६औँ मिनेटमा सबिन राईले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा लोहोरुङका मिलन चाम्लिङले ७७औँ मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरे। तर त्यसको दुई मिनेटपछि नै सेकाहाका बिनोद राईले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित ३–१ ले सुनिश्चित गरे।

अब सेकाहाले उपाधिका लागि शुक्रबार सुनसरीको न्यू स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। न्यू स्टार क्लबले पहिलो सेमिफाइनलमा काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

सम्बन्धित समाचार