संखुवासभा गोल्डकपको उपाधि सेकाहा सामुदायिक क्लबलाई



खाँदबारी । सुनसरीको न्यू स्टार क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै संखुवासभाको सेकाहा सामुदायिक विकास क्लबले संखुवासभा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ। शुक्रबार खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनलमा जित निकाल्दै सेकाहाले उपाधिसहित नगद ५ लाख रुपैयाँ हात पारेको हो।

रोमाञ्चक फाइनल खेलमा सेकाहाका मिलन लिम्बुले पहिलो हाफको ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरु भएको पाँचौँ मिनेटमै अर्थात् ५०औँ मिनेटमा मिलनले व्यक्तिगत दोस्रो गोल थप्दै सेकाहाको अग्रता २–० बनाए।

दुई गोलले पछि परेको न्यू स्टारले खेलमा पुनरागमन गर्ने प्रयास गर्दै आक्रमणलाई तीव्रता दिएको थियो। खेलको ६०औँ मिनेटमा सेकाहाका खेलाडीले पेनाल्टी क्षेत्रमा फल गरेपछि प्राप्त पेनाल्टी अवसरलाई सदुपयोग गर्दै सन्दीप श्रेष्ठले गोल गरे। उनको गोलसँगै खेल २–१ को अवस्थामा पुगे पनि बाँकी समयमा थप गोल हुन नसक्दा सेकाहा विजयी बन्यो।

उपाधिसँगै सेकाहाले नगद ५ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता न्यू स्टार क्लबले ३ लाख रुपैयाँमा चित्त बुझायो। विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा सेकाहाका दोर्जे तामाङ उत्कृष्ट खेलाडी घोषित भए भने सोही टोलीका गोलरक्षक विपुल मगर उत्कृष्ट गोलरक्षक बने। त्यस्तै, न्यू स्टारका सञ्जय श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए।

अरुण उपत्यका सामुदायिक विकास क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न जिल्लाका ८ टोलीले प्रतिस्पर्धा गरेका थिए।

सम्बन्धित समाचार