काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य आङ्गेलु शेर्पा सोलुखुम्बुबाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
बिहीबार सोलुखुम्बुमा सम्पन्न निर्वाचनमा खुला क्लस्टरतर्फ उम्मेदवारी दिएका शेर्पाले ६८० मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। निर्वाचनमा कुल १ हजार ५६ मत खसेको थियो।
नेता शेर्पाले आगामी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। असोज १८ गतेदेखि सुरु हुने महाधिवेशनमा आफू महामन्त्री पदको उम्मेदवार बन्न लागेको उनले बताएका हुन्।
‘नेपाली कांग्रेसको कार्यकारिणी अधिकार सभापति र महामन्त्रीमा हुन्छ। त्यसकारण पार्टीको नीति निर्माण तहमा महामन्त्रीहरूको प्रमुख भूमिका रहन्छ,’ शेर्पाले भने, ‘नेतृत्व तहमा गएर भूमिका खेल्न चाहेकोले महामन्त्रीको उम्मेदवार हुन लागेको हुँ।’
उनले सकेसम्म सर्वसम्मतिमै पार्टीको केन्द्रीय कार्यसमिति चयन गर्ने प्रयास गरिने पनि बताए।


प्रतिक्रिया