मकालुमा गोली हानेर शिक्षकको हत्या



संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा गोली प्रहारबाट एक जना शिक्षकको हत्या भएको छ।

मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमारप्रसाद मैनालीले जानकारी दिए।

डीएसपी मैनालीका अनुसार राईमाथि बिहीबार साँझ करिब ७ बजे गोली प्रहार भएको हो। गोली लागेर उनको देब्रे कोखमा चोट लागेको प्रहरीले जनाएको छ।

विद्यालयमै बस्दै आएका शिक्षक राई खाना खाएर हात धुन बाहिर निस्किएका बेला विद्यालय नजिकैबाट उनीमाथि भरुवा बन्दुक प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बन्दुक पड्किएको आवाजसँगै राई ढलेको सोही विद्यालयकी शिक्षिका टिकामाया राईले बताएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राईमाथि विद्यालय नजिकैबाट गोली प्रहार भएको देखिए पनि गोली कसले र किन चलाएको भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट समेत प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

सम्बन्धित समाचार