पहिरोबाट विस्थापित विद्यालयलाई ह्यप्पी इनर्जीका अध्यक्ष विष्टको डेढ लाख सहयोग



खाँदबारी । संखुवाखोलाबाट विद्युत उत्पादन गरिरहेको ह्यप्पी इनर्जी प्रालिका कार्यकारी अध्यक्ष इन्द्र विष्टले पहिरोबाट विस्थापित विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । विष्टले सिलीचोङ १ सिसुवाखोलास्थित श्री कालिका माध्यमिक विद्यालयको पठनपाठन सञ्चालनका लागि १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।

गत असार १३ गते राति गएको पहिरोले विद्यालयको संरचनामा पूर्ण क्षति पुर्याएको थियो । विस्थापित विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउन विष्टले उक्त रकम सहयोग गर्नुभएको हो ।

विष्टले सिलीचोङ गाउँपालिकाका अध्यक्ष भुपालराज राईलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण कार्यक्रममा सिलीचोङ गाउँपालिका–१ का वडाध्यक्ष गणेश कुलुङ, वडा नम्बर २ का वडाध्यक्ष मोहनशंसेर कुलुङलगायत जनप्रतिनिधिको उपस्थिति थियो ।

आफ्नो कार्यक्षेत्रमा परेको विपत्तिबाट विद्यालय र विद्यार्थी प्रभावित भएको घटनाले आफू दुःखी भएको बताउँदै विष्टले सानो भए पनि सहयोगले केही राहत पुग्ने अपेक्षासहित सहयोग गरेको बताउनुभयो ।

“विद्यार्थीहरू अस्थायी टहरामा बस्न बाध्य भएको खबर सुन्दा दुःख लाग्यो । सानो सहयोगले केही भरथेग पुग्ला कि भनेर सहयोग गरेको हुँ,” विष्टले मकालु अनलाइनसँग भन्नुभयो । उहाँले आफ्नो कार्यक्षेत्रमा परेको समस्यामा सहयोग गर्नु आफूले कर्तव्यका रूपमा लिएको समेत बताउनुभयो । प्रालिका अध्यक्ष विष्टले यस अघिदेखि नै आयोजना क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । यस्तो सहयोग आयोजनाको बजेटबाट नभई ब्यक्तिगत रुपमा सहयोग गर्दै आएको उहाँले स्पष्ट पार्नुभएको छ । ह्यप्पी ईनर्जी प्रालिले संखुवाखोलामा ४० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

पहिरोपछि विद्यालय रहेको स्थान जोखिमपूर्ण बनेकाले हाल सिलीचोङ–१ को तेन्छोङमा अस्थायी टहरा निर्माण गरी पठनपाठन सञ्चालन भइरहेको छ । गाउँपालिकाबाट उपलब्ध गराइएको जस्तापाता प्रयोग गरी स्थानीयको श्रमदानबाट अस्थायी ट्रस्ट निर्माण गरिएको वडाध्यक्ष गणेश कुलुङ (अनिश) ले जानकारी दिनुभयो ।

विद्यालयको पुनर्स्थापनाका लागि गाउँपालिकाबाहेक अन्य सरकारी निकायबाट हालसम्म सहयोग प्राप्त नभएको वडाध्यक्ष कुलुङको गुनासो छ । उहाँका अनुसार विद्यालयको स्थायी पुनर्निर्माण तथा विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित पठनपाठनको वातावरण बनाउन थप सहयोग आवश्यक छ ।

सम्बन्धित समाचार