महाकुलुङको काठमाडौँ शिबिरबाट ८३९ जनाले लिए सेवा



सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाले काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका पालिकावासीलाई लक्षित गरी तीनदिने प्रशासनिक सेवा शिविर सञ्चालन गरेको छ। गाउँपालिकाले साउन २९, ३० र ३१ गते काठमाडौँको गोकर्णेश्वरस्थित शेर्पा पार्टी प्यालेसमा शिविर सञ्चालन गरेको हो।

कुलुङ शेर्वी किदुक काठमाडौँ र चेरेम युवा समाज महाकुलुङको समन्वयमा आयोजित शिविरमा गाउँपालिकाका पाँचवटै वडाका लागि छुट्टाछुट्टै स्टल स्थापना गरी विभिन्न प्रशासनिक सेवा प्रदान गरिएको थियो।

शिविरबाट वडा नम्बर १ का १२४, वडा नम्बर २ का १४७, वडा नम्बर ३ का १५१, वडा नम्बर ४ का ८४ र वडा नम्बर ५ का ९३ वटा सेवा प्रवाह भएका छन्। त्यस्तै, पालिकास्तरबाट २४० वटा गरि ८३९ सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

शिविरमा सबैभन्दा बढी २३३ जनाले मालपोत तिरो तिरेका छन्। सबैभन्दा कम दुई जनाले अविवाहित प्रमाणितसम्बन्धी सिफारिस सेवा लिएका छन्।

गाउँपालिकाका लेखापाल धुर्ब कुलुङका अनुसार शिविरबाट पञ्जीकरण, विभिन्न प्रकारका सिफारिस, सामाजिक सुरक्षा दर्ता तथा नवीकरण, राष्ट्रिय परिचयपत्र वितरणलगायत १२ शीर्षकमा सेवा प्रदान गरिएको थियो।

गाउँपालिकाले काठमाडौँ उपत्यकामा बसोबास गर्ने पालिकावासीलाई स्थानीय तहबाटै प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले विगत केही वर्षदेखि नियमित रूपमा यस्तो शिविर सञ्चालन गर्दै आएको छ। शिविरले घरगाउँ फर्किनुपर्ने बाध्यता कम गर्दै उपत्यकामा रहेका नागरिकलाई सहज रूपमा पालिकाका सेवा प्राप्त गर्ने अवसर दिएको गाउँपालिकाले जनाएको छ।

सम्बन्धित समाचार