भलिबल संघ संखुवासभाको अध्यक्षमा पुन: मेदिनी घिमिरे सर्वसम्मत



खाँदबारी । जिल्ला भलिबल संघ संखुवासभाको १०औँ जिल्ला अधिवेशनले मेदिनी घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

सदरमुकाम खाँदबारीमा सम्पन्न अधिवेशनबाट संघको उपाध्यक्षमा सुमन श्रेष्ठ र रबिन लो, सचिवमा तीर्थराज पन्त तथा कोषाध्यक्षमा विष्णु श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा जापान राई, मणिसुन्दर राई, शान्ता राई, दिवश श्रेष्ठ, बिन्दा मोक्तान, आशिम राई, सुनिल लिङ्थेप र प्रविना तामाङ चयन भएका छन्।

अधिवेशनबाट प्रदेश प्रतिनिधिमा बिनोद राई र सुरेन्द्र गिरी तथा केन्द्रीय प्रतिनिधिमा मेदिनी घिमिरे सर्वसम्मत चयन भएका छन्। नेपाल भलिबल संघका केन्द्रीय सदस्य तथा अधिवेशनका केन्द्रीय प्रतिनिधि एवं प्रमुख अतिथि प्रबिण श्रेष्ठले अधिवेशनबाट नयाँ नेतृत्व तथा प्रतिनिधिहरू सर्वसम्मत चयन भएको जानकारी दिए।

नवनिर्वाचित अध्यक्ष मेदिनी घिमिरेले संखुवासभाको भलिबल क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले जिल्लामा प्रतिभावान खेलाडी तथा खेल प्रशिक्षक उत्पादन गर्नुका साथै उनीहरूको क्षमता अभिवृद्धिमा संघले विशेष ध्यान दिने बताए।

संखुवासभाले भलिबल खेलमा हासिल गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपलब्धिलाई कायम राख्दै आगामी दिनमा थप उपलब्धि हासिल गर्ने वातावरण निर्माणमा आफू प्रतिबद्ध रहेको अध्यक्ष घिमिरेले बताए। उनले भलिबल खेल र खेलाडीको व्यावसायिकीकरणलाई समेत प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गरे।

सम्बन्धित समाचार