पाँचौँ मानेभन्ज्याङ फुटबल कपको उपाधि एडभान्सलाई



खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभन्ज्याङमा आयोजित पाँचौँ मानेभन्ज्याङ फुटबल कपको उपाधि एडभान्स क्लबले जितेको छ। आइतबार एडभान्स क्लब र लोहोरुङ क्लबबीच भएको फाइनल खेलमा टाइब्रेकरमा एडभान्सले ६ विरुद्ध ७ गोल गर्दै उपाधि हात पारेको हो।

सो खेलमा एडभान्स र लोहोरुङबीच कडा प्रतिस्पर्धा भएको थियो। सुरुको करिब २० मिनेटका लोहोरुङले १ गोल गरेका थिए भने हाफटाइमपछिको अन्तिम चरणमा एडभान्सले गोल फर्काउँदै बराबर भएका थिए। निर्धारित समयभित्र बराबर भएपछि टाइब्रेकरमा एडभान्सले १ गोल बढी गर्दै उपाधि हासिल गरेको हो। प्रतियोगितामा तृतीय स्थानमा मिरमिरे क्लब भए।

कार्यक्रममा खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले खाँदबारी नगरपालिकामा खेलकुद क्षेत्रमा समेत अब्बल रहेको दाबी गर्दै यस प्रतियोगितामा नगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउने उद्घोष गरे।

खाँदबारी–३को महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगिताको समापन चरणका खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रप्रसाद यादव, खाँदबारी–३ का वडाध्यक्ष तथा जिल्ला फुटबल संघका अध्यक्ष भरतकुमार घिमिरेलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार