सङ्खुवासभामा अब अधिकृत विक्रेताबाट मात्रै एलपी ग्यास बिक्री गर्नुपर्ने



खाँदबारी । सङ्खुवासभामा खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन अब अधिकृत विक्रेतामार्फत मात्रै ग्यास बिक्री गर्नुपर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा बिहीबार निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधि तथा ग्यास विक्रेतासँग बसेको बैठकले एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरण व्यवस्थित गर्न विभिन्न निर्णय गरेको हो।

बैठकले जिल्लामा अनधिकृत रूपमा एलपी ग्यास बिक्री गर्ने कार्यलाई निरुत्साहित गर्दै अधिकृत विक्रेतामार्फत मात्रै बिक्री वितरण गर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ। अनधिकृत बिक्रीका कारण उपभोक्ताले तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपर्ने, ग्यासको कृत्रिम अभाव सिर्जना हुन सक्ने तथा जिल्लाको वास्तविक माग र आपूर्तिको अवस्था यकिन गर्न कठिनाइ हुने समस्या देखिँदै आएकाले यस्तो निर्णय गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारप्रसाद मैनालीले बताए।

त्यस्तै, ग्यास विक्रेताले नेपाल आयल निगम तथा सम्बन्धित निकायले तोकेको मूल्यभन्दा बढी रकम नलिई उपभोक्तालाई ग्यास बिक्री गर्नुपर्ने निर्णय भएको छ। उपभोक्ताबाट अतिरिक्त रकम असुल्ने वा तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गरेको पाइएमा कारबाही गरिने मैनालीले बताए।

बैठकले ग्यास बिक्री गर्दा उपभोक्ताको विवरणसमेत व्यवस्थित रूपमा अभिलेख राख्नुपर्ने निर्णय गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी कार्कीका अनुसार विक्रेताले ग्राहकको नागरिकता प्रमाणपत्र वा परिचय खुल्ने अन्य कागजातको प्रतिलिपिसहित कसलाई, कुन मितिमा र कति ग्यास बिक्री गरिएको हो भन्ने विवरण खुल्ने गरी अभिलेख अद्यावधिक राख्नुपर्नेछ।

यसरी अभिलेख राख्दा जिल्लामा एलपी ग्यासको वास्तविक खपत, आपूर्ति र वितरणको अवस्थाबारे तथ्यांक संकलन गर्न सहज हुने कार्कीले बताए। साथै, आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्ने, कालोबजारी गर्ने तथा अनधिकृत रूपमा पुनः बिक्री गर्ने गतिविधि नियन्त्रण गर्नसमेत सहयोग पुग्ने उनको भनाइ छ।

खाँदबारी क्षेत्रमा मात्रै सातभन्दा बढी एलपी ग्यास विक्रेता रहेका छन्। जिल्लाका विक्रेताले ग्यासको आपूर्ति तथा बिक्री वितरणमा समस्या देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने र उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध हुने वातावरण निर्माण गर्नुपर्नेमा बैठकले जोड दिएको छ।

भौगोलिक रूपमा विकट तथा ग्रामीण क्षेत्रसमेत धेरै रहेको सङ्खुवासभामा नियमित रूपमा एलपी ग्यास उपलब्ध नहुँदा उपभोक्ताले समय–समयमा समस्या भोग्दै आएका छन्। ढुवानी तथा आपूर्तिमा समस्या हुँदा बजारमा ग्यासको अभाव हुने र उपभोक्ता महँगो मूल्य तिर्न बाध्य हुनुपर्ने अवस्था आउन सक्ने उपभोक्ता रामकुमार खत्रीले बताए।

बैठकका निर्णय प्रभावकारी रूपमा कार्यान्वयन भएमा एलपी ग्यासको वितरण प्रणाली थप पारदर्शी र व्यवस्थित हुने तथा उपभोक्ताले तोकिएको मूल्यमा सहज रूपमा ग्यास पाउने उनले बताए।

जिल्ला प्रशासन कार्यालयले अधिकृत विक्रेताबाहेक अन्य माध्यमबाट ग्यास बिक्री वितरण नगर्न तथा विक्रेतालाई तोकिएको मूल्य र प्रक्रियाको पूर्ण पालना गर्न आग्रह गरेको छ। उपभोक्तालाई पनि एलपी ग्यास खरिद गर्दा अधिकृत विक्रेताबाट मात्रै खरिद गर्न र तोकिएको मूल्यभन्दा बढी रकम माग गरिएमा स्थानीय प्रशासनलाई जानकारी गराउन आग्रह गरिएको छ।

सम्बन्धित समाचार