सङ्खुवासभा । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक पुनः अवरुद्ध भएको छ । मकालु गाउँपालिका–४ स्थित नेता भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
गएराति अविरल वर्षासँगै आएको पहिरोले सडक भासिएपछि खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए ।
माथिबाट ढुङ्गा, माटोसहितको पहिरो खसेर सडक भासिएको प्रहरीले जनाएको छ । आइतबार बिहान पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको भए पनि सोमबार बिहानदेखि पुनः सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि सदरमुकाम खाँदबारीबाट भोटखोला जाने तथा भोटखोलाबाट खाँदबारी आउने यातायातका साधन आवतजावत गर्न सकेका छैनन् ।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया