संखुवासभा । सिलिचोङ गाउँपालिका–२ बाला, बेतेनीकी मनकुमारी राई (हाल खाँदबारी–१०, चन्दनपुर) तीन दिनअघि घर फर्किएपछि मात्रै उनको परिवारले राहतको सास फेर्न सकेको छ। करिब दुई महिनाअघि घरेलु कामदारको रूपमा कुवेत पुगेकी राई बिरामी अवस्थामै त्यहाँ बन्धकजस्तै अवस्थामा परेकी थिइन्।
परिवारका अनुसार रोजगारीको आशामा कुवेत पुगेकी मनकुमारीलाई रोजगारदाताले पासपोर्ट नियन्त्रणमा लिएर स्वदेश फर्किन दिईएको थिएन । स्वास्थ्य अवस्था बिग्रँदै जाँदा पनि उचित उपचारको व्यवस्था नगरिएको र घर फर्कन चाहँदा विभिन्न अवरोध सिर्जना गरिएको बताइएको छ।
यद्यपि, कठिन परिस्थितिका बीच मनकुमारीले आफू समस्यामा परेको जानकारी परिवारसम्म पुर्याउन सफल भइन्। त्यसपछि उनका श्रीमान सेककुमार राईले उनलाई कुवेत पठाउने एजेन्टहरूसँग सम्पर्क गरी घर फर्काउने पहल गरिदिन आग्रह गरे। तर, सहयोगको अपेक्षा गरेका एजेन्टहरूले उद्धारका लागि उल्टै पैसा माग्न थालेको सेककुमारको भनाई छ।
उनका अनुसार सुरुमा ४ लाख ५० हजार रुपैयाँ माग गरिएको थियो भने पछि रकम घटाएर पनि दुई लाख रुपैयाँभन्दा कममा काम नहुने बताइएको थियो। प्रत्यक्ष भेट्न खोज्दा समेत विभिन्न बहाना बनाइएपछि परिवार थप अन्योलमा परेको थियो।
आर्थिक अभाव, मानसिक तनाव र श्रीमतीको स्वास्थ्य अवस्थाप्रतिको चिन्ताले थलिएका सेककुमारले अन्ततः आफ्नै गाउँ क्षेत्रमा जलविद्युत् आयोजना निर्माण गरिरहेको ह्याप्पी ईनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष ईन्द्र बिष्टसमक्ष आफ्नो समस्या राखे।
केही समयअघिसम्म सोही आयोजनामा कार्यरत रहेका सेककुमारले श्रीमतीको अवस्थाबारे सुनाएपछि बिष्टले विषयलाई गम्भीरतापूर्वक लिए। सेककुमारका अनुसार समस्या सुनाएको करिब एक साताभित्रै मनकुमारी सुरक्षित रूपमा नेपाल फर्कन सफल भइन्।
यस विषयमा ह्याप्पी ईनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष ईन्द्र बिष्टले आफूहरूको पहलमा मनकुमारीको उद्धार सम्भव भएको पुष्टि गरे। “सेककुमारले आफ्नी श्रीमती कुवेतमा समस्यामा परेको र लामो समयदेखि घर फर्काउन नसकेको कुरा सुनाएपछि हामीले तत्काल समन्वयको काम सुरु गर्यौं,” बिष्टले भने।
उनका अनुसार कुवेतस्थित नेपाली राजदूतावाससँग निरन्तर सम्पर्क र समन्वय गरी आवश्यक कूटनीतिक पहल गरिएको थियो। कुवेतका लागि नेपाली राजदूत तथा दूतावासका अधिकारीहरूको सहयोगमा आवश्यक प्रक्रिया पूरा गरी मनकुमारीलाई स्वदेश फर्काउन सकिएको बिष्टले बताए। “कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालज्यू , मित्र भिमलाल घिमिरे लगायतको सहयोगमा चाँडै उद्धार सम्भव भयो,” बिष्टले भने।
“कमाउन विदेश गएकी एक नेपाली चेली समस्यामा परेकी थिइन् । उद्धारपछि नेपाल फर्किने सम्पूर्ण प्रक्रिया मिलायौं। मैले नै हवाई टिकटको व्यवस्था गरेर काठमाडौंसम्म ल्याई घर पठाउने प्रबन्ध मिलाएँ,” बिष्टले थपे।
स्रोतका अनुसार कुवेत–नेपाल हवाई टिकटमा मात्रै करिब ९५ हजार रुपैयाँ खर्च भएको थियो। तर, खर्चबारे प्रश्न गर्दा बिष्टले रकमभन्दा मानवीय सेवा ठूलो कुरा भएको प्रतिक्रिया दिए। “समस्यामा परेका नागरिकलाई सहयोग गर्न पाउनु नै महत्वपूर्ण हो,” उनले भने।
मनकुमारीको उद्धार केवल एक व्यक्तिको घरफिर्ती मात्र होइन, संकटमा परेका नागरिकका लागि समयमै गरिएको पहलले कसरी जीवनमा आशा फर्काउन सक्छ भन्ने उदाहरण पनि बनेको छ। विशेषगरी वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिकका लागि यस्तो सहयोगले ठूलो अर्थ राख्ने स्थानीयवासी बताउँछन्।
ह्याप्पी ईनर्जी लिमिटेडले संखुवाखोला क्षेत्रमा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आयोजनासँगै स्थानीय समुदायका विभिन्न सामाजिक तथा मानवीय समस्यामा समेत सहयोग गर्दै आएको कम्पनीका कार्यकारी अध्यक्ष बिष्टले पछिल्लो उद्धार कार्यमार्फत पुनः उदाहरण प्रस्तुत गरेका छन्।
विदेशी भूमिमा समस्यामा परेकी एक महिलाको सुरक्षित घरफिर्तीसँगै एउटा परिवारको पीडा अन्त्य भएको छ भने मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वको अर्को उदाहरण पनि स्थापित भएको छ।


प्रतिक्रिया