खाँदबारीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते



खाँदबारी। संखुवासभाको खाँदबारी नगरपालिका–७, लभिङहिलस्थित कोशी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ९ः३० बजे मानेभञ्ज्याङबाट खाँदबारीतर्फ आउँदै गरेको प्र.१–०२–०४१ प ८९०६ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको को २९ प ६६७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा प्र.१–०२–०४१ प ८९०६ नम्बरको मोटरसाइकल चालक खाँदबारी नगरपालिका–३, गुवाबारीका २३ वर्षीय लगन खत्रीको अनुहारमा चोट लागेको छ। उनको अवस्था तत्काल सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

ट्राफिक प्रहरी हवल्दार नविन श्रेष्ठका अनुसार २९ प ६६७५ नम्बरको मोटरसाइकल चालक सभापोखरी गाउँपालिका–१ का १९ वर्षीय ठाकुर न्यौपानेलाई भने कुनै चोटपटक लागेको छैन। सोही मोटरसाइकलमा पछाडि सवार सभापोखरी गाउँपालिका–१ कै २१ वर्षीय निलमणि सुवेदीको अनुहारमा चोट लागेको छ। उनको अवस्था पनि सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको ट्राफिक प्रहरी हवल्दार नविन श्रेष्ठले जानकारी दिएका छन्।

घाईते दुवैको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार