प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत खटिएका महिला उत्साहित



नवलपुर, असार २० । प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि नवलपुर, कावासोतीका महिलाहरु बढी उत्साहित भएका छन् । आर्थिक उपार्जनका स्रोत नहुँदा दिनभर फुर्सदिला हुने महिलालाई रोजगार कार्यक्रमले आत्मनिर्भर बनाउन थालेको छ ।

काम नहुँदा समय बिताउनै गाह्रो भएको बताउने महिलाहरुले कार्यक्रम लागू भएपछि विभिन्न काममा खटिन थालेका छन् । आर्थिक रुपमा सम्पूर्ण रुपमा श्रीमानको भर पर्नुपर्ने बाध्यताका महिलाहरु गाउँघरमै रोजगार पाउँदा उत्साहित भएर सहभागी भएको स्थानीय देवी पौडेल बताउँछिन् ।

कार्यक्रममा पुरुषको तुलनामा महिलाहरु बढी सहभागी भएका छन् । अधिकांश युवा जनशक्ति रोजगारीका लागि विदेश गएकाले रोजगार कार्यक्रममा महिलाको सहभागिता उल्लेख्य देखिएको हो ।

कावासोतीका रोजगार संयोजक मुकुन्द सापकोटाका अनुसार नगरपालिकामा २ हजार ९९ सय जनाले रोजगारका लागि दिएको निवेदनमा ६३ प्रतिशत महिला रहेका छन् ।

कार्यक्रमले एकातिर बेरोजगारहरुले छोटो समयकै लागि भए पनि काम पाएका छन् भने भने अर्कोतिर स्थानीयस्तरका समस्या समाधानमा सघाउ पुगेको छ । छोटो समयको लागि दिइएको रोजगारीलाई दीर्घकालीन बनाउनुपर्ने उनीहरुको माग छ ।

सम्बन्धित समाचार