अन्तुमा पर्यटकको चहलपल



इलाम । इलामका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल सुरु भएको छ । असोजको दोस्रो साताबाट प्रमुख पर्यटकीय गन्तव्य अन्तु र सन्दकपुरमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको हो ।

मौसम केही खुलेको, होमस्टे पनि सञ्चालन भएको र हाल दैनिक दुई सयभन्दा बढी पर्यटक अन्तुमा आउन थालेको अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले बताउनुभयो । सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध अन्तुमा अझै सूर्योदयको दृश्य भने अझै पूर्ण रूपमा राम्रो देखिन नथालेको र अब एक÷दुई सातापछि तराईतिरबाट सूर्योदय हुन थालेपछि अझ पर्यटक बढ्ने उहाँले बताउनुभयो । पर्यटकका लागि अन्तु खुला गरिए पनि कोरोना सङ्क्रमणको डर भने कायमै छ । पर्यटकले मास्क लगाउँदैनन्, हामीले सचेतता अपनाए पनि धेरैले अटेर गरेको पाइयो, आलेले भन्नुभयो ।

होमस्टे सञ्चालकले कोरोना सङ्क्रमणबाट जोगाउन पर्यटकका लागि सात बुँदे र होमस्टे सञ्चालकका लागि छ बुँदे आचारसंहिता तयार गरी कार्यान्वयनमा ल्याइएको श्रीअन्तु सामुदायिक होमस्टेका सचिव डम्बर मगरले जानकारी दिनुभयो । आचारसंहितामा पर्यटकले मास्क अनिवार्य प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम राख्नुपर्ने, पाहुनालाई तोकिएको शौचालय, बाथरुम र धारा प्रयोग गर्नुपर्ने, तोकिएको स्थानमा मात्र हिँडडुल, नाचगान र क्याम्प फायर गर्नुपर्नेलगायतका बुँदा उल्लेख गरिएको छ । यस्तै होमस्टे, होटल र कटेज सञ्चालकले पनि भान्साघरमा काम गर्नेले मास्क, पन्जा र एप्रोन अनिवार्य लगाउनुपर्ने, पाहुनाका लागि अलग्गै साबुन पानी र सेनिटाइजर राख्नुपर्ने, पाहुनालाई प्रयोग गरिएको थालबटुका अरूले प्रयोग नगर्ने, एक दिन बिराएर मात्र अर्को रात पाहुना राख्नुपर्नेजस्ता नियम बनाइएको सचिव मगरले बताउनुभयो ।

मौसम खुलेसँगै अन्तुमा पर्यटक निकै बाक्लिएका छन् । शुक्रबार–शनिबार त तीन सयभन्दा बढी नै पर्यटक अन्तु आउन थालेको अर्का व्यवसायी अन्तु डाँडा सामुदायिक होमस्टेका सचिव कैलाश प्रधानले जानकारी दिनुभयो । अन्तुमा ६३ घरमा होमस्टे सञ्चालन भएको जनाइएको छ । कटेज र होटल पनि सञ्चालन भइरहेका छन् । होमस्टेले भने यो वर्ष खाना र बासमा गत वर्षकै मूल्य कायम गरेको बताइएको छ ।

यता सूर्योदय र हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने जिल्लाकै अग्लो स्थान सन्दकपुरमा पनि आन्तरिक पर्यटक पुग्न थालेका छन् । आन्तरिक पर्यटकले सन्दकपुरका होटलमा ‘बुकिङ’ सुरु गरेको शेर्पा च्यालेट होटलले जनाएको छ । अहिले भारतीय पर्यटक आएका छैनन् । बाह्य पर्यटक पनि छैनन् तर यहाँका होटललाई बाहिरबाट बुकिङका लागि अर्डर आइरहेको छ, स्थानीय वडा सदस्य पेमा डण्डु शेर्पाले भन्नुभयो, “जिल्लाभित्रका पर्यटक आउन सुरु गरे, बाहिरका पर्यटकलाई बुकिङ खुला गरिएको छैन । ”

सम्बन्धित समाचार